PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

धनुषाका नवनिर्वाचित प्रमुखहरुले लिए सपथ, जनकपुरका मेयरको पहिलो निर्णय : वडाबाटै फोहोर व्यवस्थापन गर्ने



पहिलोपोस्ट

धनुषाका नवनिर्वाचित प्रमुखहरुले लिए सपथ, जनकपुरका मेयरको पहिलो निर्णय : वडाबाटै फोहोर व्यवस्थापन गर्ने

जनकपुरधाम : जनकपुरधामसहित धनुषाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरुले  पद तथा गोपनियताको सपथ लिएका हुन्। धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर र अध्यक्षलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

मंगलवार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित भएका १८ वटै पालिकाका प्रमुखलाई सपथ ग्रहण गराएका हुन्।

धनुषामा एक उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेकोमा सबै प्रमुखले सपथ ग्रहण गरेका हुन्। अब उनीहरुले पालिकामा निर्वाचित अन्य जनप्रतिनिधिलाई सपथ खुवाउने छन्।

जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गरिने

सपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जनकपुरको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने पहिलो निर्णय गरेका छन्।

यसअघि उपमहानगरपालिका कार्यालय आफैँले फोहोर व्यवस्थापन गर्ने गरेको थियो। वडा कार्यालयलाई थप जवाफदेही बनाउँदै फोहोर व्यवस्थापनका लागि जिम्मेवारी विकेन्द्रिकरण गर्ने निर्णय मेयर साहले गरेका हुन्।

फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई ट्र्याक्टर र सफाइ कर्मचारी उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले जानकारी दिए।

‘जनकपुरमा फोहोर व्यवस्थापन प्रमुख चुनौती हो। बजार क्षेत्रमा सरसफाइ हुने गरे पनि टोलटोलमा सम्भव हुनसकेको थिएन’, उपाध्यायले भने, ‘उपमहानगरपालिकाका साथै फोहोर व्यवस्थापनको जिम्मा वडा कार्यालयलाई दिने निर्णय मेयरज्यूले गर्नुभएको छ।’

त्यस्तै, उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णय मेयर साहले गरेका छन्। यसअघि एउटा शाखामा आवद्ध कर्मचारीले अर्को शाखाको काम गर्दै आइरहेका थिए।

उपमहानगर कार्यालयभित्र सेवाग्राहीलाई सहज ढंगबाट सेवा उपलब्ध गराउँदै सुशासन कायम गर्न पारदर्शिता अपनाउने निर्णय भएको उपाध्यायले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell