PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१५ हजार मतान्तरमा जित्‍ने लक्ष्य लिएका ललितपुरका चिरिबाबुले १८ हजारभन्दा धेरै मत ल्याएर भए विजयी



नेत्र तामाङ

१५ हजार मतान्तरमा जित्‍ने लक्ष्य लिएका ललितपुरका चिरिबाबुले १८ हजारभन्दा धेरै मत ल्याएर भए विजयी

ललितपुर : ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जनले दाबी गरेको भन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन्। मंगलवार अबेर आएको परिणाम अनुसार चिरिबाबुले चिरपरिचित प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्।

वैशाख १२ गते मनोनयनपछि चिरिबाबुले १५ हजार बढी मत ल्याएर जित्ने दाबी गरेका थिए।

चिरिबाबुले मनोनयनपछि भनेका थिए, ‘यहाँहरुलाई वैशाख ३० गते जितेर देखाउँछु। १५ हजार बढी मतले जित्छु।’ 

तर, आँकलन गरेको भन्दा बढी मत पाएर चिरिबाबु निर्वाचित भएका छन्। उनले १८ हजार १ सय ६२ मतान्तरसहित ब्यञ्जनकारलाई पराजित गरेका हुन्। मेयरमा चिरिबाबुले ४२ हजार ७२२ मत पाउँदा हरिकृष्णले २४ हजार ५६० मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक पुष्टि भने गरिसकेको छैन।

त्यसो त चिरिबाबुले आफूले धेरै मत पाउने आधार भने प्रशस्तै प्रस्तुत गरेका थिए। जित्ने आधार प्रस्तुत गर्दै गर्दा उनले पहिलोपोस्टसँग भनेका थिए, 'म धेरै मतान्तरले जित्छु। जसको आधार - मैले पाँच वर्ष राम्रो काम गरेँ। नगरबासीको मन जितेँ। मलाई सबैतिर क्लियर इमेज भएको मेयर भन्छन्। अर्को कुरा हिजो मर्ज हुन आएका थप वडामा म परिचित थिइनँ। अहिले चिनिएको छु। यो भनेको भोट बढ्ने नै हो।'

समाजवादीदेखि माओवादीको भोटले पनि जितमा अग्रता हासिल हुने उनको दावी थियो। 'गठबन्धन पनि हो अर्को कारण। पहिले 'सोल्ली एन्ड होल्ली' पाएको हुँ। यसपटक समाजवादीले पनि भोट दिन्छन्। माओवादीले पनि भोट दिन्छन्। मलाई भोट नदिने भनेको नेकपा एमालेले मात्र हो। यसकारण एमालेको उम्मेदवारलाई धेरै मतान्तरले हराउँछु। धेरै मार्जिनले हराउँछु,' उनले भनेका थिए।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका चिरिबाबुले २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी भएका थिए। ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। त्यस्तै, माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।

चिरिबाबुसँग ब्यञ्जनकार मात्र ३ सय २६ मतले पराजित भएका थिए। चुनावी परिणामसँग असन्तुष्ट भएका ब्यञ्जनकार अदालतसम्म पुगेका थिए।
चुनावमा आफूले आँकलन गरेकोभन्दा बढी मत पाएपछि चिरिबाबुले मन शीतल भएको बताए। आफ्ना समर्थकसँग बधाई साटासाटका क्रममा मतगणनास्थलमा उनले भने, ‘अब मन शीतल भयो। १५ हजार बढी मत ल्याएर जित्छु भनेको थिए। कट्यो। त्यो भन्दा बढी आयो।‘

यति धेरै मत पाउनुको कारण के होला? जवाफमा चिरिबाबुले भने, ‘गएको पाँच वर्षमा नगरवासीलाई शिरमा राखेर सेवा गर्ने मौका पाएँ। त्यसैवापत नगरवासी खुशी भएको मैले बुझेको छु।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell