PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वल्लोछेउ एमालेको नाराबाजी, बिचमा सुरक्षाकर्मीको पहरा, पल्लो छेउमा गठबन्धनको उत्सव



रिना थापा

वल्लोछेउ एमालेको नाराबाजी, बिचमा सुरक्षाकर्मीको पहरा, पल्लो छेउमा गठबन्धनको उत्सव

पोखरा : मध्यान्हदेखि स्थगित भएको पोखरा महानगरको मतगणना अझै सुरु हुन सकेको छैन। नेकपा (एमाले)का प्रतिनिधि मतगणना स्थलमा नआएपछि मतगणना संचालन हुन नसकेको हो। मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने मतगणना केहीबेरमा सुरु हुने जानकारी दिएका छन्।

एमाले प्रतिनिधिले मतगणनास्थल छोड्नु अगावै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्बर १८ को पुन: मतगणना गर्न माग गर्दै निवेदन दिएको थियो।

वडामा ४ हजार ३४८ खसेको मतमा ९ मत कम आएपछि आज एमालेका वडा अध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा र महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले निवेदन दिएका हुन्। यस वडामा पुष्कल बहादुर थापा कांग्रेसका उम्मेदवार शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए। सोमवार निस्किएको नतिजा अनुसार पुष्कलले १ हजार ६४० मत ल्याउँदा शिवले १ हजार ६४३ मत ल्याएका थिए।

एमालेले निवेदन दिएपछि खाना खान निस्किएका प्रतिनिधि अहिलेसम्म उपस्थित भएका छैनन्। प्रतिनिधि बाहिर निस्किएपछि उनीहरुसँग एमालेका नेताले छलफल गरेका थिए। पुन: मतगणना हुने निर्णय नआउँदासम्म मतगणनास्थलमा नजाने सल्लाह नेताले दिएको एमालेकै कार्यकर्ताले सुनाए।

'१८ वडाको पुन: मतगणना गराउनुपर्छ। हाम्रो कुरा ९ भोट कता गायब भयो भन्ने हो। तीन मतले बाजी पल्टिन पनि सक्छ,' ती नेताले भने।

त्यही बिच एमालेलाई काउन्टर दिन कांग्रेसले पनि वडा १ र १७ मा पुन: मतगणना गर्नुपर्ने माग राख्दै निवेदन दिएको छ।

दिउँसोदेखि रोकिएको मतगणना सुरु नभएपछि निर्वाचन अधिकृतको कार्यालयअगाडि आएर नेपाली कांग्रेसका कार्यकर्ताले मतगणना जारी गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका छन्। भित्र तीन दलको बैठक बसेको थियो। अहिले मुख्य निर्वाचन अधिकृत र एमालेको बैठक बसिरहेको छ।

नाराबाजी साम्य पार्न निर्वाचन अधिकृतको कार्यालयले माइकिङ गर्‍यो, 'मतगणना केहीबेरमा जारी हुन्छ।'

कार्यालयले माइकिङ गरेको एकघण्टा बढी समय बितिसक्दा पनि मतगणना जारी भएको छैन। पुन: कांग्रेसकै कार्यकर्ताले चर्को नाराबाजी लगाउन थाले। कार्यकर्ताको नाराबाजीलाई कांग्रेसका नेताले साम्य बनाउन खोजिरहेका थिए।

गेट बाहिर कार्यकर्ता चर्को नाराबाजी लगाउँदा गेट भित्र कांग्रेसका नेता नाराबाजी शान्त पार्नुपर्ने बारे छलफल गर्दै थिए।

'मतगणना केहीबेरमा हुन्छ। यो  नाराबाजी बन्द गर्न लगाउ,' कांग्रेसका नेताले भन्दै थिए। नेताकै बोली नमान्ने गरी एकछिन कार्यकर्ताले चर्को नाराबाजी लगाएपछि माहोल शान्त बनेको थियो।

त्यसको केहीबेरमा वडा १८ का एमाले कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय अगाडि आएर नाराबाजी गरे। 'हाम्रो ९ मत खै !' भन्दै एमाले प्लेकार्ड बोकेर आए।

यता शान्त बनेका कांग्रेस कार्यकर्ताले बाजागाजा साथ नाचगान गर्दैछन्। कांग्रेसको जितको धुनमा एमाले विरोध गर्दै आइपुगेका छन्। एकैछिन माहोल तनावपूर्ण बन्ने देखिए पनि सुरक्षाकर्मीले दुई दलका बिचमा कडा सुरक्षा दिएको छ।

एमालेको नारालाई कांग्रेसको बाजागाजाले छोपेको छ अहिले पोखरामा। एमाले र कांग्रेसका कार्यकर्ताको भेला निर्वाचन अधिकृतकै गेटमा भएपछि एमालेका कार्यकर्तालाई अहिले सुरक्षाकर्मीले जिल्ला समन्वय समितिको गेटमा पठाइदिएको छ। मुख्य निर्वाचन अधिकृतको मुख्य गेट अगाडि कांग्रेसले जितको उत्सव मनाइरहँदा कार्यालय पछाडि एमालेका कार्यकर्ताले पुन: मतगणना गराउनुपर्ने माग गर्दै नाराबाजी गर्दैछन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell