PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यिनै हुन् विश्वको सबैभन्दा होचा टिनएजर

यिनै हुन् विश्वको सबैभन्दा होचा टिनएजर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गत वर्ष कात्तिकमा सिन्धुलीका डोरबहादुर खपाङीले नागरिकता पाए। २०६१ साल कार्त्तिक २९ गते जन्मिएका उनले १७ वर्षको उमेरमा नागरिकता लिइरहँदा विश्वकै होचो व्यक्ति बन्ने दौडमा थिए। त्यसबेला करिब ७१ सेन्टीमिटर रहेको खुलेपछि उनी होचो व्यक्ति बन्नसक्ने अनुमान गरिएको थियो। नागरिकता बनेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारीले डोरबहादुरको तस्विर सार्वजनिक गरेका थिए। त्यसपछि उनको चर्चा काठमाडौंसम्म चुलियो।

केही महिना अघि सेभन समिटका थानेश्वर गौतमले डोरबहादुरको उचाइ र तौल लिए। अनि गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि पठाए। गिनिजले सबै प्रक्रिया पूरा गरेर डोरबहादुरलाई विश्वकै सबैभन्दा होचो ‘टिनएजर’ घोषित गर्‍यो।

आज नेपाल पर्यटन बोर्डमा बोर्डका सीईओ धनन्जय रेग्मीले डोरबहादुरलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले पठाएको प्रमाणपत्र हस्तान्तरण गरे।

डोरबहादुरलाई लिएर उनका दाजु नरबहादुर खपाङ्गी शनिवार काठमाडौं आएका थिए। उनका अनुसार हलक्कै बढ्नुपर्ने उमेरमा डोरबहादुरको उचाइ बढेन। परिवारले धेरै अस्पतालमा उनलाई लगेर देखायो पनि। तर, कतैबाट कुनै उपचार निस्केन।

‘उपचार गर्न जाँदा डाक्टरहरुले कति उमेर भयो भनेर सोध्थे। सबैले नागरिकता चाहियो भन्थे। त्यसपछि नागरिकता बनाउन सुरु गर्‍यौं,’ नरबहादुरले भने।

नागरिकता लिएपछि डोरबहादुरलाई विश्वकै होचो व्यक्ति बन्ने बाटो पनि खुल्दै गएको उनले बताए। नरबहादुरका अनुसार चिकिसकले हाल डोरबहादुरको स्वास्थ्य अवस्था ‘नर्मल’ भएको बताएका छन्।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार हाल डोरबहादुरको उचाइ ७१ सेन्टिमिटर ७३.४३ सेन्टिमिटर (२ फिट ४९ इन्च) रहेको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell