
हेटाैडा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको दाबी गरेका छन्।
मंगलवार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता मिलेको बताएका हुन्।
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा प्रमुख पदमा निर्वाचित भएकी छिन्।
पार्टीको तुलनामा एकीकृत समाजवादीले गठबन्धनमार्फत् छोटो समयमा महत्वपूर्ण सफलता प्राप्त गरेको पनि नेता नेपालले दाबी गरे।
सोही कार्यक्रममा उनले धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित स्वतन्त्र उम्मेवार हर्क साम्पाङको प्रशंसा गरे। उनले निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताहरुलाई साम्पाङकै जस्तै काम गरेर देखाउन आह्वान पनि गरे।
‘नमुना उम्मेदवारको रुपमा धरानको मेयरमा विजयी भएका व्यक्तिको लगनशीलताको म प्रशंसा गर्न चाहन्छु। साधारण, अत्यन्तै निराश भएका र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसले ट्याम्पो चलाएर जनताको सेवा गर्ने गरेका रहेछन्। ट्याम्पोबाटै उनले बिरामीको उद्वार गर्ने गरेका रहेछन्। चुनाव आउने कहिले कहिले तर, थाहा पाउने बित्तिकै सहयोग गर्न पुग्दा रहेछन्’ उनले भने, ‘यस्तो भावना छ हामीमा? त्यस्ता मान्छेलाई सम्मान गर्नुपर्दैन?’
असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई उनले हर्क सम्पाङले जस्तै काम गर्न निर्देशन दिएका हुन्।