अमेरिका मात्र होइन विश्वलाई नै स्तब्ध बनाउने गरी टेक्ससमा १८ स्कुले बालबालिकाको गोली हानी हत्या भएको छ। १८ वर्षीय एक युवकले ७ देखि १० वर्ष उमेर समूहका बालबालिकाको हत्या गरेका हुन्।
टेक्ससका गभर्नर जर्ज अवटले प्राथमिक विद्यालयमा हतियारसहित जानु अघि गोली प्रहार गर्ने १८ वर्षीय हतियारधारीले आफ्नै हजुरआमालाई गोली हानेको तथ्य बाहिर ल्याएका छन्।
गोली त्यस्तो स्कुलमा चल्यो जहाँ आर्थिक अवस्था कमजोर भएकाहरु पढ्थे। यसै साताबाट गर्मीको बिदा सुरु हुँदै थियो स्कुलको। टेक्ससको सान एन्टियो भन्दा ८० माइल दुरीमा रहेको युभाल्टीको रोब इलिमेन्ट्री स्कुलमा यस्तो घटना भएको हो।
टेक्ससका गभर्नरले दिएको जानकारी अनुसार गोली चलाउने १८ वर्षीय किशोर साल्भाडोर रोमस हुन्। उनीसँग ह्यान्ड गन र एआर-१५ राइफल थियो। गोली चलाउने किशोरको पनि मृत्यु भएको छ। उनलाई सुरक्षाकर्मीले गोली हानेको हुनसक्ने बताइएको छ।
मारिने बालबालिका दुईदेखि चार कक्षामा पढ्थे। यस घटनाले सन् २०१२ को यस्तै पुरानो हत्याकाण्डलाई सम्झाइदिएको छ जसबेला २० स्कुले विद्यार्थी र ६ जना त्यहाँ कार्यरत कर्मचारी गोलीको सिकार भएका थिए।