PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कांग्रेसको काँध चढेर एमालेको किल्लामाथि धनराजको प्रहार : भारी मतान्तरले सूर्यको 'ब्रान्ड' मेट्यो कलमले



रिना थापा

कांग्रेसको काँध चढेर एमालेको किल्लामाथि धनराजको प्रहार : भारी मतान्तरले सूर्यको 'ब्रान्ड' मेट्यो कलमले

पोखरा : ढुक्क थिए पोखरा महानगरको नेतृत्व हाँक्नेमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य। धनराजको बोलीमा जति विश्वास देखिन्थ्यो, त्यति नै कठिन थियो नेकपा एमालेले बसाएको विरासतको जग भत्काउन। विश्वासका साथ सार्वजनिक मञ्चदेखि मिडियामा भारी मतान्तरले जित्ने दाबी गरेका धनराज अन्ततः पोखरा महानगरको नेतृत्व आफ्नो कब्जामा पार्न सफल भए।

एमालेको विरासत भत्काउँदै धनराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट पोखराको नेतृत्व हाँक्ने पहिलो महानगर प्रमुख बनेका छन्। धनराजका लागि मात्र होइन, उनी आवद्ध दलका लागि पनि महानगरमाथिको जित सबैभन्दा ठूलो उपलब्धी हो किनकि मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमालेको खातामा एउटै पनि छैन महानगरको साँचो जुन नेकपा एकीकृत समाजवादीसँग छ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीलाई पोखरामा एमालेको किल्ला भत्काउन त्यति सहज भने थिएन। त्यसैले पनि अघिल्लो पटक १४ हजार मतान्तरले पोखरामा जित निकालेको एमालेलाई कसरी धनराजले हराउलान्?

महत्व र रोमाञ्चकताका साथ नजर टिकेको थियो यहाँको निर्वाचनमा। पोखरामा एमालेका कृष्ण थापा पुन: आउँलान् वा धनराजले बाजी मार्लान्? सुरुवातमा यसै आँकलन गर्ने अवस्था थिएन पोखरामा। विद्रोह गरेर जन्मिएको पार्टीको पोखरामा जम्मा छ हजार सक्रिय सदस्यमात्रै रहँदा कसरी जित्लान् भन्ने सबैमा कौतुहलता थियो। त्यसैले उनलाई भर थियो गठबन्धनकै। अझ भनौं, पोखरामा दोस्रो ठूलो दल रहेको नेपाली कांग्रेसको काँधमा चढेर उनी एमालेविरुद्ध युद्धरत थिए। सत्तारुढ गठबन्धनबाट उम्मेदवारी थियो उनको। त्यसैले पनि नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताले धनराजलाई मत दिन्छन् वा दिँदैनन्? यसमा पनि उत्तिकै आशंका थियो।

‘हिजो जन्मिएको पार्टीलाई हामीले कसरी छाप लगाउने? रुख छोडेर कलममा मत कसले दिन्छन्?,’ कांग्रेसकै एक कार्यकर्ताले त्यस समय उनको उम्मेदवारीलाई लिएर पहिलोपोस्टसँग असन्तुष्टि पोखेका थिए। तर, अनुमान गरेको आँकलनलाई धनराजले गलत साबित गरिदिए। कांग्रेसका असन्तुष्ट कार्यकर्तालाई रिझाउन सफल बने उनी। त्यतिमात्र होइन, उनको दाबी थियो एमालेकै मत तान्ने। पहिलोपोस्टसँगको अन्तर्वार्तामा उनले गरेको दाबी अनुसारकै नतिजाले देखायो। उनी एमालेको मत तान्न सफल भए। प्रतिस्पर्धात्मक सोचिएको निर्वाचनमा धनराजले सुरुवातदेखि नै अग्रता लिए। छोटो समयको तयारीले मात्रै उनले यस्तो सफलता हासिल गरेका भने होइनन्।

एमाले फुटेपछि पोखरामा एकीकृत समाजवादीको शीर्ष नेतृत्व ल्याउने तयारी थियो उनको। सोही अनुरुप उनी एकल रुपमा नै कास्की जिल्लामा पार्टी संगठन बिस्तारमा लागे। कमिटी गठन गरे। एमालेभित्र केपी ओलीबाट असन्तुष्ट रहेको कार्यकर्तालाई साथ लिए। पोखरामा पार्टीको कार्यालय स्थापना गरेर अध्यक्ष माधवकुमार नेपालबाट उद्घाटन गराए। अनि पोखरामा एकीकृत समाजवादी तेस्रो ठूलो दल बनेको घोषणा गरे। उनको तयारी यति बलियो देखियो कि स्थानीय तह निर्वाचनमा माधवकुमार नेपाल कुनै पनि हालमा पोखरा महानगरको नेतृत्व छोड्न तयार भएनन्। धनराजको तयारी देखेका पार्टी अध्यक्ष नेपालले गठबन्धनको शीर्ष बैठकमा आफ्नो अडान कायमै राखिरहे। कांग्रेसकै असन्तुष्टिका बिच अन्तत: पोखरामा एकीकृत समाजवादीले सिट पायो। धनराज उम्मेदवार बन्ने पहिल्यै पक्का थियो। टिकट पाएपछि एक खुड्किलो पार गरेका थिए उनले। तर, उनीसामु चुनौतीका चाङमध्येको थियो - कांग्रेसभित्रका असन्तुष्ट कार्यकर्ता फकाउने। उनी ढुक्क थिए- आफ्नो स्पष्ट तर्कका साथ फकाउन सक्नेमा। त्यसमा उनी सफल पनि बने।

गठबन्धनबाट अन्तर्घात नहुनेमा उनी सुरुवातदेखि नै विश्वस्त थिए। उनलाई भर गठबन्धनकै थियो। व्यवसायी समेत रहेका धनराजलाई राम्रोसँग थाहा थियो - कता तर्कले काम गर्छ र कता स्रोतले। उनले आफ्नो सुझबुझ प्रयोग गरे। मत काट्ने सम्भावित बागी उम्मेदवारलाई फकाए र बसाए।

पोखरामा एमालेभित्रको अन्तर संघर्षबाट जित निकाल्ने दाउ कांग्रेसको थियो। त्यस्तोमा एमालेको भित्रको फुटलाई सदुपयोग गर्नसक्ने व्यक्ति धनराज हुन् भन्ने मान्न कांग्रेस तयार थिएन। तर, उनले मनाई छाडे। कांग्रेसको मत पाइछाडे।

‘सबै असन्तुष्ट थिएनन्। २०–२५ प्रतिशत असन्तुष्ट रहेकालाई उहाँले तर्क र तथ्यसहित सम्झाउन सफल हुनुभयो। कास्की कांग्रेसका वरिष्ठ नेतासँग त्यही अनुसार कुरा गर्नुभयो जसले असन्तुष्ट पक्षलाई सम्झाउन सहज भयो,’ धनराज निकट एक नेताले भने।

मतदान गर्न पुगेका कांग्रेस कार्यकर्ताले सूर्यमा छाप पक्कै लगाउँदैनन् भन्नेमा पनि विश्वस्त थिए उनी। उनको विश्वास सही ठहरियो। यसबाहेक उनका लागि अर्को डर थियो - मत बदरको। पोखरामा वडा नम्बर २१ मा बाहेक अन्य वडामा उनको पार्टीका उम्मेदवार थिएनन्। कलममा छाप लगाउन मतदाता अलमलिन्छन् भन्ने बुझेपछि घरघरमा मतदातालाई छाप कसरी र कहाँ लगाउने भन्नेबारे शिक्षा दिन टोली नै खटाए धनराजले। एमालेले आँकलन गरेको थियो गठबन्धनको अधिकांश मत बदर हुन्छ। देशका अन्य महानगरमा बदर भए पनि पोखरामा त्यस्तो भएन। धनराजले यस विषयमा पर्याप्त ध्यान पुर्‍याए। सोचेभन्दा निक्कै कम मत बदर भयो।

धनराजलाई स्पष्ट रुपमा थाहा थियो एमालेको किल्ला रहेको पोखरामा गठबन्धनको साथले मात्र पनि जित हासिल हुँदैन। त्यसैले उनले एमालेकै कार्यकर्ता फकाउन पनि लागिपरे। उनको अर्को रणनीति थियो सबै दलको साझा बन्नु। कसैलाई भाषणाबाट गाली वा विरोध गरेनन् उनले। उनी हरेक सार्वजनिक मञ्चमा निष्पक्ष सुनिए। मञ्च चढ्ने बित्तिकै ‘जय नेपाल’ भनेर कांग्रेसका नेता फकाउने शैली उनको रणनीतिक थियो। त्यस्तै, रणनीति एमालेका कार्यकर्तालाई नगिज्याउनुमा पनि थियो। विद्रोह गरेर एमाले छाडेका उनले एमालेबारे कहिल्यै पनि गाली र विरोधका भाषा प्रयोग गरेनन्। यसले एमालेका मतदाता उनीसँग रुष्ट बन्ने बाटो नै बनेन। एमालेको नाडी छामेका उनलाई थाहा थियो -एमालेको भित्रको कमजोरी। गुट–उपगुटको लडाईँ। त्यसलाई पनि उनले भरपूर प्रयोग गरे।

पोखरामा पुगेर केपी शर्मा ओलीले धनराजलाई रौंसरी गरेनन् - उम्मेदवारका रुपमा। एकीकृत समाजवादीको चुनाव चिह्न कलम 'टुँडो भाँचिएको र मसी नभएको कलम' बताएका थिए ओलीले। धनराजले बोकेको कलम त्यही थियो जसले ओलीले सधैं दावी गर्ने 'सूर्य ब्रान्ड'को घमण्डलाई सेती नदीको प्रवाहसँगै बगाइदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell