काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै फ्रेन्चाइज नेपाल टी २० लिगको घोषणा गरेसँग एभरेस्ट प्रिमियर लिग (ईपीएल) र क्यानबिचको जुहारी चलिरहेको छ। सोमवार एभरेस्ट प्रिमियर लिगका फ्रेन्चाइजी टोलीले चारवटा संस्करणहरु पूरा गरिसक्दा आफ्नो लगानी ठूलो परिसकेको भन्दै नेपाली कर्पोरेटका लागि गलत सन्देश गएको जनाएका थिए। उनीहरुले क्यानको अन्य गतिविधिमा पनि सहयोग र समर्थन नरहने समेत दावी गरेका छन्।
यसको लगत्तै अर्को दिन क्यानले विज्ञप्ति निकाल्दै ईपीएफलले 'धम्की पूर्ण' विज्ञप्तिमा ध्यानकर्षण गरेको जनाएको छ। जसलाई कपोलकल्पित र भ्रमपूर्ण प्रचारवाजी भएको भन्दै यसबारे खेद प्रकट गरेको थियो।
लगत्तै मंगलवार बसेको क्यानको बैठकले इपीएल लगायतका फ्रेन्चाइज लिगहरुलाई क्षेत्रिय मान्यता दिन सकिने जनाएको हो।
'नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेञ्चाइज्ड लिगहरूले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर सहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो,' क्यानको बोर्ड बैठकको निर्णयमा भनिएको छ।
नेपालमा ईपीएलबाहेक पनि धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग फ्रेन्चाइज लिगका रुपमा अस्तित्वत्वमा छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगका लागि ६ टिमको नामसमेत तय गरेको छ। क्यानले यसअघि नेपाल टी २० लिग सेप्टेम्बर २४ तारिकबाट अक्टोबर २२ सम्म आयोजनाको तयारी गरेको जनाएको थियो।
६ टोलीलाई 'होम एण्ड अवे' को अवधारणमा खेलाउने क्यानको तयारी छ। क्यानको मंगलवार बसेको बैठकले ६ वटा टोलीको नाम समेत घोषणा गरेको छ। जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टन रहेका छन्।