काठमाडौं : विवेकशील साझाको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन्।
उनले फेसबुक मार्फत् विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जानकारी दिएका हुन्। स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएकाले हारको जिम्मेवारी लिँदै नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका छन्।
मिश्रले जारी गरको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।'
उनले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि पार्टीको साधारण सदस्य भने रहिरहेन बताएका छन्। विवेकशील पार्टीले यस स्थानीय तहको निर्वाचनमा बाराको फेटा गाउँपालिका र त्यहाँको वडामा मात्र जित हासिल गरेको छ। गाउँपालिकामा निर्वाचित रुस्तम अन्सारीको लोकप्रियताको कारण जित हासिल गरेको भन्दै मिश्रले त्यसमा पार्टीको लोकप्रियता परीक्षण नभएको स्वीकारेका छन्।
बैकल्पिक राजनीतिलाई अगाडि बढाउने भन्दै पाँच वर्षअघिदेखि सक्रिय राजनीतिमा आएका मिश्रको विवेकशील साझा पार्टीले अघिल्ला स्थानीय तहको निर्वाचनको तुलनामा यसपाला अत्यन्तै कमजोर उपस्थिति देखाएको छ।
यसअघिको स्थानीय तहको निर्वाचनमा मिश्रको नेतृत्वमा साझा पार्टीले काठमाडौंमा बलियो उपस्थिति देखाएको थियो। साझाबाट काठमाडौंमा उम्मेदवार बनेका इन्जिनियर किशोर थापाले १८ हजार मत ल्याएका थिए। विवेकशील पार्टीबाट रञ्जु दर्शनाले मेयर पदमा २३ हजार मत ल्याएका थिए। वैकल्पिक दलका रुपमा आएका यी दुवै दलप्रति जनताले राम्रो अभिमत दिएका थिए - छोटो समयमा नै। पछि यी दुवै दल एकीकरण भएर विवेकशील साझा बन्यो। तर, मिश्रको नेतृत्वकालमै विवेकशील पश्चगामी राजनीतिक मोडतिर धकेलिएपछि विभाजनको मोडतिर पुग्यो। विभाजन, पुन एकीकरण र फेरि विभाजनको साइकलमै विवेकशील साझा फनफनी घुमिरह्यो।
यसपालाको निर्वाचनमा विवेकशील साझाबाट काठमाडौंको मेयरमा उम्मेदवार रहेकी समीक्षा बास्कोटाले हालसम्म ६ सय मत कटाउन सकेकी छैनन्। अन्यत्र पनि विवेकशील साझाको उपस्थित न्युन रह्यो। विवेकशील साझा परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले धनगढी उपमहानगरपालिकामा जित निकाले र आफ्नो व्यक्तिगत हैसियत देखाए। उनको जितमा पनि विवेकशीलले क्रेडिट लिने स्थिति किन थिएन भने यसअघि पनि स्वतन्त्र उम्मेदवारका हैसियतमा हमालले राम्रो मत हासिल गरेर पराजय भोगेका थिए।
देशव्यापी परिणाम आफ्नो पक्षमा नआउनु तथाा विचारभन्दा माथि देश भन्ने नारालाई जनमतले पूर्णत: अस्विकृत गर्नुले उनलाई राजीनामाका लागि बाध्य पार्यो। मिश्रले निर्वाचन अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्न खोजेका थिए जुन सफल भएन। त्यो कदमले मिश्रमाथि लाग्दै आएको 'राजवादी'को ट्याग थप स्थापित भयो। र, बैकल्पिक राजनीतिको असफल प्रयोगकर्ताका रुपमा उनी स्थापित भए। यति हुँदा नैतिक रुपमा राजीनामा दिएर मिश्रले एउटा राम्रो संस्कार भने छाडेका छन्।