PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

पोखराका कृष्ण जो आफ्नै पार्टीका 'सकुनी'हरुको भए सिकार : के अरु पनि थिए हारका कारण?



रिना थापा

पोखराका कृष्ण जो आफ्नै पार्टीका 'सकुनी'हरुको भए सिकार : के अरु पनि थिए हारका कारण?

पोखरा : नेकपा (एमाले)को किल्ला मानिन्छ पोखरा महानगरसहित कास्की जिल्ला। एमालेकै किल्ला मानिएको क्षेत्रको सबैभन्दा ठूलो जनसंख्या रहेको पोखरा महानगरपालिकामा एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले बाजी मारे। पोखरा महानगरको गढ दाबी गरिएको वडामा समेत नेपाली कांग्रेसले जित निकाल्यो। पोखरा महानगरमा एमालेबाट प्रमुखको प्रत्यासी थिए कृष्ण थापा। उपप्रमुखमा एमालेबाट उम्मेदवार थिइन् परिचित अनुहार मञ्जुदेवी गुरुङ। पोखरा महानगरका प्रमुखमा एमालेका कृष्ण पराजित हुँदा उपप्रमुखमा मञ्जु भने विजयी भइन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा १४ हजार मतान्तरले प्रमुखमा विजयी भएको महानगरमा एमालेकै नेतृत्व आउनेमा विश्वस्त थिए कृष्ण। जितको सुनिश्चितताको दाबी गर्थे उनी हरेक सभासमारोहमा। तर, नतिजा कृष्णले नसोचेको निस्कियो। कृष्णले यस्तो नतिजा आउने विषय अन्तिमतिर भने आँकलन गरेका थिए। रोचक के रह्यो भने - मेयरमा जित निकालेका धनराजले भन्दा उप मेयरमा जित निकाल्दा मञ्जुले बढी मत हासिल गरेकी छिन्।

एकै दलबाट उम्मेदवारमध्ये मञ्जुले विजयी भएर अविर लगाइरहँदा कृष्ण पराजय भए। उपप्रमुख पद जोगाउन सफल बनेको एमालेले पोखरामा प्रमुख पद कसरी गुमाउन पुग्यो? यसमा एमाले भित्रकै अन्तर्घातलाई कारण बताउँछन् एमालेका कार्यकर्ता। केन्द्रमा सबै नेता र कार्यकर्ता अध्यक्ष केपी ओलीसँग निकट रहे पनि जिल्लामा फरक दृश्य छ। पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी गुट–उपगुट छन् जिल्लामा। दुई नेता बिच प्रतिष्ठाको लडाईँले स्थानीय तह निर्वाचनमा अन्तर्घातसम्म ल्याइपुर्‍यायो। यसलाई पार्टीका कार्यकर्ता सहजै स्वीर्काछन्।

‘पार्टीभित्रैबाट अन्तरघात भएर एमालेले प्रमुख पद गुमाउनुपर्‍यो। यो अन्तर्घात उहाँलाई नभई एमालेलाई पनि हो,’ एमालेका एक नेताले भने।

सुरुवातमा पोखरामा एमालेबाट प्रमुख पदमा कृष्ण थापाको चर्चा हुँदा दीपक पौडेलले टिकट पाए। दीपक उनै नेता हुन् जसले टिकट पाएर पनि प्रमुखमा लड्न पाएनन्। टिकट पाएलगत्तै एमालेभित्रकै नेताले सार्वजनिक गरेको सुन चोरीको भिडियोका कारण उनको टिकट खोसियो। टिकट खोसिएका दीपक पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन्। खगराज पक्षका नेताले सो भिडियो सार्वजनिक गरेको गुरुङ पक्षका नेताले आरोप लगाउँदै आएका छन्। दीपकको टिकट खोसिएसँगै प्रमुखमा लड्ने अवसर पाए कृष्णले। तर, पृथ्वीसुब्बा पक्षले गुटभित्रको लडाईँ बिर्सेका थिएनन्। कृष्णलाई प्रमुखमा हराउन पार्टीभित्रकै नेता लागे। केहीदिन अगाडि सार्वजनिक भएको अडियो संवादले पनि उक्त कुराको पुष्टि गर्छ।

‘एक छाप कलम बाँकी छाप सूर्यमा हाल्न सिकाउन कार्यकर्ता नै लागे। उपप्रमुख हाम्रो, प्रमुख कलम भनेर पार्टीभित्रबाट कार्यकर्ता वडाबाटै लागिपरे,’ ती नेताले भने।

ती नेताले भनेजस्तै प्रत्येक वडामा सूर्यमा मत क्रस भएको देखिन्छ। जस्तो कि वडा नम्बर १७ मा प्रमुख पदमा एमालेमा २४ सय ५९ मत जाँदा उपप्रमुखमा मञ्जुलाई २९ सय ६७ मत गएको छ। वडा ३१ मा पनि मञ्जुलाई १९ सय २० मत आउँदा कृष्णलाई १७ सय ६१ मतमात्र आएको छ। यता वडा २४ मा पनि मत क्रस भएको देखिन्छ। उपप्रमुखमा मञ्जुले १९ सय ४७ मत पाउँदा प्रमुखमा कृष्णले १७ सय ३९ मत पाएका छन्। यी वडा एमालेको गढ मानिन्छ। वडा नम्बर ३१ खगराजको गृह वडासमेत हो।

मत परिणामले पनि देखाउँछ उपप्रमुखमा जति मत गयो त्यति गएन प्रमुख पदमा कृष्णलाई। एमालेकै मत उपप्रमुखमा जाँदा प्रमुखमा धनराजलाई गयो। तर, अन्तर्घात मात्र प्रमुख कारण होला त कृष्णको हारमा?

विवादास्पद छवि छ पोखरामा कृष्णको। जातीय विभेददेखि फेवातालमा ढल मिसाएको विषयमा उनी तानिएका थिए। पार्टीभित्रकै कार्यकर्ता पनि रुष्ट थिए उनको कार्यशैलीदेखि। यहीबिच एमालेले प्रमुख पदमा कृष्णलाई टिकट दियो। जातीय विभेदको विषयमा जोडिएका कृष्णलाई हराउन उनकै वडामा दलित समूदायले अभियान नै सुरु गरेका थिए। जति कृष्णले घरदैलो गरे त्यति नै कृष्णलाई हराउन मोहन सुनार लागिरहे। मोहन उनै व्यक्ति हुन् जसलाई क्रिया भवन प्रयोग गर्न दिइएको थिएन। मोहनले यस विषयमा जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए। कृष्णले पक्राउ परेका दुई जनाको समर्थन गर्दै बिनाशर्त रिहाइ गर्नुपर्ने माग राखेर विज्ञप्ति निकालेका थिए। उनको कदमले दलित समुदायको मतको असर चुनावमा देखियो।

‘उहाँको विवादित छविका कारण मतमा असर पनि पर्‍यो। पार्टीभित्रकै केही कार्यकर्ताहरु उहाँको कार्यशैलीप्रति रुष्ट छन्,’ ती नेताले भने, ‘दलित समूदायले अभियान नै चलाउँदा पार्टीभित्रकै दलित समुदायको मतलाई प्रभाव पनि पार्‍यो।’

यद्यपि, कृष्णले आफ्नो वडामा धनराजले भन्दा धेरै मत ल्याए। उसो त यस वडामा कृष्णले कांग्रेसका नेता तथा गण्डकी प्रदेशका मन्त्री कुमार खड्कासँग हात मिलाएका बताउँछन् दलका नेता। वडा अध्यक्षमा कांग्रेसलाई दिएर प्रमुखमा कृष्णलाई साथ दिने भित्री सहमति भएको बताउँछन् दुवै दलका नेता-कार्यकर्ता। वडा नम्बर १६ मन्त्री खड्काको गृह वडा पनि हो। यस वडामा कांग्रेसका वडा अध्यक्षले ३३ सय १८ ल्याउँदा एमालेकाले ३१ सय ७० ल्याएका छन्। यस वडाबाट धनराजले २४ सय ९२ मत ल्याउँदा कृष्णले ३४ सय ४६ मत पाए। धनराजले भन्दा ९ सय बढी मत कृष्णले यस वडाबाट ल्याए पनि एमालेको मत क्रस यस वडाबाट पनि भएको छ। उपप्रमुखमा ३५ सय ६५ आएको छ यस वडाबाट जुन कृष्णले पाएभन्दा बढी हो।

यस्तै, पृथ्वीसुब्बा पक्षधर नेताले सार्वजनिक भएको दीपकको भिडियो खगराज गुटले निकालेको आरोप लगाइरहँदा दीपकको वडामा एमालेले हार व्यहोरेको छ। टिकट खोसिएका दीपकको वडा १९ हो। जहाँबाट कृष्णले २२ सय ६८ मत ल्याएका छन्। यता उपप्रमुखमा मञ्जुले २६ सय ल्याएकी छिन्। यस्तै, यही वडाबाट धनराजले कृष्णले भन्दा बढी मत २३ सय ५४ ल्याएका छन्। वडा अध्यक्षमा कांग्रेसले विजय हासिल गरेको छ।

प्रदेश निर्वाचन क्षेत्र नं २ (ख)का भए पनि कृष्ण निर्वाचन क्षेत्र नं २ (क) बाट २०७४ सालमा चुनावमा उठेका थिए। निर्वाचित भएका कृष्णले प्रदेश सभाको छ महिने कार्यकाल बाँकी रहँदा नै राजीनामा दिएर पोखराको प्रमुख पदमा उम्मेदवारी दिएका थिए। पोखराको नेतृत्व हाँक्ने सपनाका साथ सांसद पद त्यागेर चुनावमा होमिएका कृष्ण अन्तत: असफल भए।

यसपाला पोखराको चुनाव 'महाभारत' भन्दा कम थिएन। यतिमात्र हो कि यहाँको चुनावी महाभारत द्वापर युगको कन्हैया कृष्णको थिएन - थियो त कृष्ण थापाको जसको चलेन लीला। किनकि यहाँ 'सकुनी'हरु उनैलाई सिध्याउन थिए सक्रिय।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell