PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यत्रो धेरै मत बदर किन? दलहरुले जानेनन् कि निर्वाचन आयोगले बनाएन जागरुक?



प्रकाश भण्डारी

यत्रो धेरै मत बदर किन? दलहरुले जानेनन् कि निर्वाचन आयोगले बनाएन जागरुक?

काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले गएको सोमवार निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिए। पुन मतगणना गर्न माग गरिएको निवेदनम उल्लेख छ-रुख र कलम दुवैमा परेको मत बदर गर्न हुन्न। दुवैमा परेको मध्ये कलमको मत गणना हुनुपर्छ भन्ने माग गरेका थिए श्रेष्ठले।

‘४० हजार हाराहारीमा मत बदर भएको छ। यत्रो मत बदर किन भयो? रुखमा उम्मेद्वार छैन, कलममा छ तर मान्छेले दुवैमा हालेको छ। त्यसलाई बदर मान्ने त? कलमको मत त गन्नु पर्‍यो नि,’श्रेष्ठले भने। निर्वाचन अधिकृतको कार्यालयले भने श्रेष्ठको मागलाई भने अस्वीकार गर्‍यो। 

एउटै पदको दुई चिन्हमा परेको मत बदर हुने भएकाले पुन गणना गर्न सम्भव नभएको जवाफ मुख्य निर्वाचन अधिकृतको कार्यालयले फर्काएको छ। मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले भने, 'निर्देशिकामै दुई ठाउँमा परेको मतलाई बदर मान्ने भनेको छ त्यसैले हामीले त्यसलाई बदरमै गणना गरेका छौँ। यो सम्भव हुने विषय होइन।’

वीरगंज महानगरपालिकामा उपप्रमुख पदका विजयी र निकटतम प्रतिस्पर्धी उम्मेदवारले ल्याएको मतभन्दा धेरै मत बदर भयो। जम्मा ९३ हजार ७ सय २५ मत खसेकोमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएर विजयी भए। आलमका निकट्तम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तम लाल झा ले ९ हजार ५ सय ६८ मत मात्रै ल्याए।

तर, बदर मतको संख्या भने दुवै उम्मेदवारले पाएको मत भन्दा बढी छ। आलम र झा दुवैले ल्याएको मत ३९ हजार ६ सय ४६ हुन आउँछ। ४३ हजार ७ सय ३५ मत बदर भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। सदर मतको संख्या ४९ हजार ९ सय ९३ छ। सदर र बदर मतको फरक ६ हजार २ सय ५८ मात्रै छ। उपमेयरमा खसेको जम्मा मतको ४६.६६ प्रतिशत मत बदर भएको देखिन्छ। 

विराटनगर महानगरपालिकाको उपमेयर पदमा पनि धेरै संख्यामा मत बदर भएको थियो। उपप्रमुखमा निर्वाचित एमालेकी शिल्पा कार्कीले ल्याएको मत २५ हजार ६ सय ८० थियो। तर, त्यो भन्दा बढी मत ३४ हजार १ सय ६७ मत बदर भएको छ। हेटौँडा उपमहानगरको मतगणनामा मेयर पदमा परेको मत मध्ये १२ प्रतिशत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मेयरको तुलनामा उपमेयरमा धेरै मत बदर भएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जनाकारी दिए। उपमेयरमा १८ प्रतिशत मत बदर भएको थियो। 

काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम आइसकेको छैन। तर, मत गणनामा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुका अनुसार गठबन्धनका तर्फबाट उपप्रमुखमा लडेका उम्मेदवारको मत बदर धेरै छ। 

बदर मतको संख्या धेरै किन?

मत धेरै संख्यामा मत बदर हुनुको मुख्य कारण दलहरुको गठबन्धन भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले दलहरुका बिचमा भएको तालमेलका कारण धेरै मत बदर भएको बताए। उनले अन्तिम समयमा दलहरुका बिचमा तालमेलको सहमति हुँदा मतदाता झुक्किएको बताए।

'दलहरुले तालमेल भएको छ। रुखमा हाल्नेले लहरै हाल्दिए। मानौं उपमेयर अर्कोलाई दिएको छ रुखले भने पनि रुखमै मत आएको छ। कलम-कलममा हान्नेहरु पनि भए,’ उनले भने।

‘दलहरुले मत मागे तर मतदान गर्न सिकाएनन्’

निर्वाचन आयोगले दलहरुको कमजोरीका कारण धेरै संख्यामा मत बदर भएको विवरण प्राप्त भएको जनाएको छ। दलहरुले मत माग्दा प्रष्टसँग आफ्ना मतदातालाई नसिकाएको आयोगको आरोप छ। 'हामीले मत माग्‍नेमात्रै होइन, हाल्न पनि सिकाउनुस् भनेका थियौं तर दलहरुले राम्ररी मत हाल्न सिकाएनन्,’ उनले भने।

दलहरुका कारण मत बदर संख्या बढेको आयोगले आरोप लगाउँदा आयोग आफैँले पनि मतदाता शिक्षा यसपाला प्रभावकारी रुपमा सञ्चालन गरेको थिएन। एक दिन मात्रै मतदान केन्द्रमा मत हाल्ने तरिका सिकाउन निर्वाचन आयोगले मतदान अधिकृत तथा निर्वाचन आयोगका कर्मचारीहरुलाई निर्देशन दिएको थियो। समय अभावका कारण मतदाता शिक्षा सञ्चालन गर्न नसकिएको निर्वाचन आयोगको भनाइ छ। 

दलहरुको आरोप : उम्मेदवार नभएकोमा पनि चिन्ह हुँदा बदर !

निर्वाचन आयोगले दलहरुलाई तालमेलका कारण बदर मत धेरै भएको बताइरहँदा दलहरुले भने निर्वाचन आयोगलेलाई उम्मेदवार नभएको ठाउँमा पनि चुनाव चिन्ह हुँदा मत बदर भएको बताएका छन्।

काठमाडौं महानगरपालिकाका उपप्रमुखका उम्मेदवार श्रेष्ठले पनि गठबन्धनका दलहरुबिचको सहमतिमा कांग्रेसका उम्मेदवार नभए पनि आयोगले भने सबैको चिन्ह राख्दा मत बदर भएको बताए।

‘कांग्रेसको उम्मेदवार थिएन तर चिन्ह छ। त्यसैले पनि यति धेरै मत बदर भए,’ उनले भने। यस्तै नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले निर्वाचन आयोगले उम्मेदवार नभएको ठाउँमा पनि चुनाव चिन्ह राखिँदा मत धेरै बदर भएको बताए। श्रेष्ठले गठबन्धनले उम्मेदवार नभएकोमा चिन्ह नराख्‍न आग्रह गरेको भए पनि त्यसको बेवास्ता गरेको आरोप लगाए। मेयरको पद सुरुमै हुने र दलहरुले पनि मेयरमै बढी जोड गरेर प्रचार गरेकाले पनि उपप्रमुखमा धेरै मत बदर भएको श्रेष्ठको भनाइ छ। 

निर्वाचन आयोगले ८७ प्रकारका मतपत्र बनाएको थियो। ७७ जिल्लाका ७७ प्रकारको र ६ महानगर तथा भक्तपुरका ४ महानगरका लागि १० प्रकारको मतपत्र बनाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell