काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि बन्चरेडाँडामा मंगलवार आकस्मिक रूपमा फोहोर खसालिएको थियो।
बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन्। साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले मागप्रति नजरअन्दाज नगरिने बताएकी हुन्।
‘बन्चरेडाडाँ ल्याण्डफिल साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौं। बन्चरेडाडाँ ल्याण्डफिल साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ। स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन,’ उनले भनिन्।
छलफलका क्रममा धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाडाँ ल्याण्डफिल साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताएका थिए। उनले साइट व्यवस्थापनमा व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका थिए। यस्तै, नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताएका थिए। शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व अन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने उनको माग थियो।
यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताएका थिए। दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्नका लागि तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न उनहरूको आग्रह थियो।