PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अन्तर्घातले चुनाव हारेको ओलीको निचोड, 'मत संख्याका हिसाबले अहिले पनि एमाले पहिलो पार्टी'



प्रकाश भण्डारी

अन्तर्घातले चुनाव हारेको ओलीको निचोड, 'मत संख्याका हिसाबले अहिले पनि एमाले पहिलो पार्टी'

काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको १२ दिन पछि चुनावबारे समीक्षा गरेको छ। बुधवार बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणामबारे आफ्नो धारणा राखेका थिए।

चुनाव सकिएलगतै एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर पार्टीको धारणा सार्वजनिक गरेको भए पनि त्यसयता नेकपा एमालेले चुनावी परिणाबारे औपचारिक रुपमा छलफल गरेको थिएन। एमालेको विज्ञप्तिमा चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाइएको थियो।

के भने ओलीले?

ओलीले स्थानीय तह निर्वाचनबारे सार्वजनिक रुपमा केही बताएका छैनन्। उनले केहीदिन अघि काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा चुनावी परिणामबारे कुनै प्रसंग नै नजोडेर सम्बोधन सकाएका थिए।

नेकपा एमालेले २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा यसपटक धेरै ठाउँमा चुनाव हारेको छ। महानगर प्रमुखमा एमालेको भागमा जित छैन भने उपमहानगरको हकमा पनि एमालेले अघिल्लो पटक चुनावमा जितेकै ठाउँहरु गुमाउन पुग्यो। पार्टी नराम्रोसँग पराजित भएको भए पनि ओलीले भने मौनता साधेका थिए। चुनाव प्रचारका क्रममा ओलीले सत्ता गठबन्धन दलहरु पछारिने भन्दै एमालेका नेता कार्यकर्ताहरुलाई उच्च मनोबल बनाएर तयारी गर्न निर्देशन दिएका थिए। तर, ओलीको उक्त दाबीको ठिक उल्टो हुनेगरी चुनावी परिणाम आएको छ। 

बुधवारको संसदीय दलको बैठकमा ओलीले प्रतिकुलताका बाबजुद चुनावमा एमाले होमिएकाले अहिलेको जित पनि उपलब्धी भएको बताएका थिए। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धनसँग चुनावमा प्रतिस्पर्धा गरेर अहिलेको सिट संख्या आउनु सन्तोषजनक भएको ओलीले बैठकमा ब्रिफिङ गरेको जानकारी दिए।

'समसामयीक परिस्थितिका बारेमा अध्यक्षले बोल्नु भयो। स्थानीय तह चुनाव धेरै ठुलो प्रतिकुलताका धेरै ठुलो घेराबन्दीका बिचमा एमालेले जुन परिणाम पायो त्यो सन्तोषजनक नै छ भन्नु भयो,'भट्टराईले भने।

'मत संख्याका हिसाबले हामी अहिले पनि पहिलो पार्टी'

निर्वाचन आयोगको बुधवार दिउँसो सम्मको तथ्यांक अनुसार एमालेले २०४ ठाउँमा प्रमुखमा जित निकालेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा २९४ ठाउँमा चुनाव जितेर एमाले पहिलो शक्ति बनेको थियो।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ३२६ ठाउँमा चुनाव जितेको छ अहिलेको स्थानीय तह निर्वाचनमा। तर, अहिलेको परिणामलाई ओलीले मत संख्याका आधारमा एमाले पहिलो नै भएको भन्दै संसदीय दलका सदस्यलाई एमालेको पराजयलाई त्यति ठुलो नमान्न आग्रह गरेका हुन्। 

'सिट संख्याका हिसाबले हामी तल भए पनि मत संख्याका हिसाबले हामी पहिलो पार्टी नै छौं। अझै सुव्यवस्थित तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ राख्नु भयो,'ओलीको भनाई उल्लेख गर्दै भट्टराईले भने। 

अन्तर्घातले पराजय

ओलीले बैठकमा कुनै महानगरको बारेमा केन्द्रित भएर धारणा नराखेको भए पनि महानगरहरुमा भएको हारको कारण भने अन्तर्घात भएको बताएका थिए। उनले पार्टी भित्रका समस्यालाई पार्टी भित्रै मिलाएर जानु पर्ने भए पनि चुनावमा असन्तुष्टी प्रकट हुँदा पराजित हुनुपरेको बताएका थिए। अबको निर्वाचनमा भने पार्टीको अन्तर्विरोधलाई मिलाएर लैजानुपर्ने ओलीको धारणा छ।

ओलीले चुनाव हार्नुको अर्को कारण बलियो गरि निर्वाचनमा एमालेका विरुद्ध सत्ता गठबन्धन उभिनु भएको बताएका छन्। 'यो भन्दा पछि हामीले असन्तुष्टिलाई सम्बोधन गरेर एक ढिक्का भएर जानुपर्छ भन्ने कुरा राख्नुभयो। कयौं ठाउँमा त हामीले आन्तरिक समस्याका कारण र उम्मेदवारका कारणले हार्नुपर्‍यो। गठबन्धन सशक्तरुपमा आएका कारणले पनि हामी पराजित भयौं भन्ने कुरा भन्नु भयो,'ओलीले भनाई उल्लेख गर्दै भट्टराईले भने। 

नीति तथा कार्यक्रमको प्रतिवाद गर्न निर्देशन

ओलीले सरकारको नीति तथा कार्यक्रमबारे राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न सांसदहरुलाई निर्देशन दिएका छन्। सभ्य भएर प्रस्तुत हुन आग्रह गरेका ओलीले सरकारको नीति तथा कार्यक्रमको भने सशक्त ढंगले प्रतिवाद गर्न निर्देशन दिएका छन्। ओलीले भोलि बस्ने बैठकमा सम्बोधन गर्ने तय भएको भट्टराईले जानकारी दिए।

'भोलिबाट सरकारको नीति तथा कार्यक्रममा छलफल हुन्छ र त्यसमा अध्यक्षले बोल्नु हुन्छ। संसदमा सरकारको नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने भन्नु भएको छ। अध्ययनशील भएर तर्कयुक्त तरिकाले सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रतिवाद गर्न आग्रह गर्नुभयो,'ओलीको भनाइ बारे भट्टराले भने।

प्रतिनिधि सभालाई लामो समयसम्म अवरुद्ध गर्दै आएको एमालेले संसदको बजेट अधिवेशनदेखि बिना शर्त आफ्नो मागबाट पछि हटेको छ। तत्कालीन एमालेका माधवकुमार नेपाल सहितका १४ जना सांसदलाई गरेको कारवाही सभामुख अग्नि प्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै एमाले सभामुख माथि खनिएर बैठकलाई अवरुद्ध पार्दै आएको थियो। बुधवारको बैठक चुनावी परिणामलाई लिएर भन्दा पनि संसदको रणनीतिबारेमा केन्द्रित हुनका लागि बोलाइएको थियो। तर, बैठकमा संसदमा एमालेको रणनीति भन्दा स्थानीय तह निर्वाचनको परिणामबारे बढी छलफल भएको भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell