PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पोखरामा एमालेको विजय सभामा पृथ्वीसुब्बाविरुद्ध नाराबाजी, गठबन्धनको र्‍यालीलाई सम्बोधन नगरी फर्किए रामचन्द्र पौडेल



पहिलोपोस्ट

पोखरामा एमालेको विजय सभामा पृथ्वीसुब्बाविरुद्ध नाराबाजी, गठबन्धनको र्‍यालीलाई सम्बोधन नगरी फर्किए रामचन्द्र पौडेल

पोखराः स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ। नगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले पाँच वर्षको लागि जिम्मेवारी पाएका छन्।

मंगलबार मध्यराति आएको अन्तिम नतिजापछि दिउँसो दुबै दलले विजयी सभा आयोजना गरे। गठबन्धनले सभागृह हुँदै प्रर्दशनी केन्द्रमा र एमालेले शहीद चोकदेखि सभा गृहसम्म विजयी र्‍याली निकाल्यो। तर पोखराको मौसमले दुबै दललाई साथ दिएन। भव्य र्‍याली निकाल्ने सोच बनाएको दलले छाता ओढेर र्‍याली सुरु गरे।

एमालेको विजय सभामा सम्बोधन गर्न आइपुगेका थिए पृथ्वीसुब्बा गुरुङ। छाता ओढेर पृथ्वीसुब्बाले सम्बोधन गरिरहँदा पल्लो छेउ एमालेकै कार्यकर्ताले नाराबाजी गरे। निर्वाचनमा देखिएको गुटको लडाईंले प्रमुख पद गुमाउन पुगेको एमालेका खगराज अधिकारी पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए।

पृथ्वीसुब्बा पक्षले प्रमुख पदका उम्मेदवार रहेका कृष्ण थापालाई हराउने षड्यन्त्र गरेको आरोप खगराज पक्षले लगाएको छ। कृष्णलाई हराउन लागेको अडियो सार्वजनिक भएपछि खगराज पक्षधर नेता कार्यकर्ता आक्रोशमा छन्।

'अन्तर्घाती होसियार, अन्तर्घाती मूर्दावाद'लगायतका नारा उनीहरुले लगाएका थिए।

आक्रोशित कार्यकर्तालाई साम्य पार्न एमालेकै नेतालाई गाह्रो परेको थियो। पछि, महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले कार्यकर्तालाई शान्त पारेका थिए।

सम्बोधन नगरी फर्किए रामचन्द्र

यता कांग्रेसको विजयी र्‍यालीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने जनाइएको थियो। सोही अनुसार सम्बोधनको कार्यक्रम तय भएको थियो। तनहुँमा रहेका नेता पौडेल बुधबार नै पोखरामा पनि आएका थिए। तर, गठबन्धनको कार्यक्रममा सम्बोधन नगरी फर्किए उनी। एकैछिन विजयी र्‍यालीमा भने सहभागी भएका थिए उनी।

व्यस्तताका कारण पौडेल उपस्थित हुन नसकेको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले बताए।

यद्यपि कार्यक्रममा पुर्वमन्त्री यज्ञबहादुर थापादेखि प्रदेशका अन्य नेताको उपस्थिति भने थियो।

'दिदीलाई मिस गरेको छु'

गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार थिइन् कांग्रेसकी कोपिला रानाभाट। प्रमुखमा गठबन्धन विजयी हुँदा पौडेल निकट रहेकी कोपिला पराजित भइन। पराजित कोपिला गठबन्धनको कार्यक्रम अनुपस्थित भइन। सभालाई सम्बोधन गर्दै सुरुवातमै नवनिर्वाचित प्रमुख धनराज आचार्यले कोपिलालाई सम्झिए। कोपिलालाई अभिभावकको रुपमा अघि बढाउन नपाएकोमा पार्टीभित्रैबाट समीक्षा हुनुपर्ने उनले बताए।

'केही कम्युनिटीका साथीहरूले भोट हाल्नुभएन गम्भीर समीक्षा गरौँ चुनाव एकबारको कुरा होइन। हाम्रा कमी कमजोरी कार्यशैलीका कुरा संगठन परिचालन र संगठनभित्रका आन्तरिक अन्तरविरोध यी आदि कारणहरुले गर्दा हिजोसँगै उभिएको दिदिलाई अभिभावक बनाएर अघि बढ्छु भनेको थिएँ तर यो विजय जुलुसमा निर्वाचित भएर उभिरहदा दिदीलाई मैले धेरै मिस गरेको छु', उनले भने।

चार निर्णय गर्दै धनराज

नवनिर्वाचित प्रमुख उपप्रमुखले बिहीबार पदभार ग्रहण गर्दैछन्। पदभार ग्रहणसँगै चारवटा निर्णय गर्ने प्रमुख आचार्यले बताएका छन्।

जन्म, विवाह, मृत्यु दर्ता ६ महिनाभित्र गर्दा निःशुल्क गर्ने, पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने र संघ सरकारलाई पत्र लेखेर पठाउने निर्णय गर्ने बताएका छन्। यस्तै पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’को डिजाइन एक महिनाभित्र बनाउन आह्वान गर्ने र उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कर दिने महानगरले घोषणा गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell