PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चुनावी खातामा पराजय बेहोरेका यी हुन् बिजयहरु...



हेम रोकाहा

चुनावी खातामा पराजय बेहोरेका यी हुन् बिजयहरु...

काठमाडौं : ‘नाममा के राखेको छ र!’

भनाइ धेरै सुनिँदै आएको हो। केही मानिस नामजस्तै लाग्लान् केही ठीक उल्टो।

धन नभएका ‘धनबहादुर’हरु पनि छन् अनि बौद्धिक हुन नसकेका ‘बुद्धिबहादुर’हरु। नाम विजय हुँदैमा सधैँ जितिन्छ नै भन्ने हुँदैन। जित र हारमा विभिन्न अवस्था र परिस्थितिले प्रभाव पार्छ।

भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा पनि धेरै ‘विजय’ नाम भएका उम्मेदवारहरु पराजित भएका छन्।

यो स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका निकै नै चर्चामा रह्यो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल प्रमुखमा पुनः उठेपछि पनि भरतपुरको चर्चा भएको हो।

अघिल्लो चुनावमा मतपत्र च्यातिएपछि भरतपुर चर्चामा आएको थियो। यसपालि के होला? रेनुले जित्लिन् या हार्लिन्? भन्ने बहस सर्वत्र थियो।

रेनुको प्रतिद्वन्द्वी थिए नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदी। भरतपुरमा सुवेदीको पनि राम्रै माहोल बनेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेर जित्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका थिए उनी।

तर, चुनावको नतिजा सुवेदीको पक्षमा आउन सकेन। उनलाई पराजित गर्दै रेनु पुनः भरतपुरको प्रमुखमा निर्वाचित भइन्।

सुरुवातका केही वडाहरुको मतगणना गर्दा विजयले केही समय अग्रता लिएका थिए। तर, पछि भने रेनुले अग्रता मात्र लिएनन् निकै फराकिलो पनि पारिन्। अन्त्यमा १२ हजार ४४६ मतान्तरले रेनुले चुनाव जितिन्।

रेणुले ५२ हजार २८ मत ल्याउँदा विजयले ३९ हाजार ५८२ मत ल्याए। चुनावमा उनको नामले सार्थकता पाउन सकेन।

यस्तै परिस्थिति देखियो पर्साको वीरगंज महानगरपालिकामा पनि। वीरगंज महानगरको प्रमुखमा दोहोरिन चाहन्थे विजय कुमार सरावगी। अघिल्लो चुनावमा संघीय समाजवादी फोरम, नेपालका तर्फबाट वीरगंजको मेयर बनेका थिए उनी।

त्यतिबेलाको फोरम अहिले जनता समाजवादी पार्टी (जसपा) भएको छ। जसपाबाट टिकट नपाउने देखेपछि उनी एमालेमा प्रवेश गरेका थिए। सरावगीलाई चुनावकै केही समय अघि मात्रै पार्टीमा भित्र्याएको थियो एमालेले, मेयरको उम्मेदवार बनाउन।

हुन त सरावगी एमालेमा प्रवेश गर्नुअघि कांग्रेसमा जाने चर्चा नभएको होइन। तर, एमालेसँगको बार्गेनिङमा उनलाई फाइदा पुग्ने देखियो।

एमालेमा प्रवेश गरेर उम्मेदवार बने पनि चनावको नतिजा भने उनको पक्षमा आएन। सरावगी जसपाका उम्मेदवार राजेश मान सिंहसँग निकै फराकिलो मतान्तरले पराजित भए।

सिंह ३६ हजार ९१० मत ल्याएर वीरगंज महानगर प्रमुखमा निर्वाचित हुँदा सरावगीले १९ हजार ८०१ मत मात्रै ल्याए। आफ्नो नामलाई सार्थकता दिन उनको भाग्यले दिएन।

त्यस्तै, सिराहाको सुखीपुर नगरपालिकामा विजय कुमार यादव पराजित भएका छन्। कांग्रेसबाट उम्मेदवार बनेका यादव २ हजार ५६६ मत ल्याउँदै चौथो बने। सुखीपुर नगरपालिकामा एमालेका राम औतार यादव ४ हजार ४३४ मत ल्याएर विजय भए।

यस्तै, महोत्तरीको भँगाहा नगरपालिकामा कांग्रेसका उम्मेदवार विजय मण्डलले पनि चुनाव जित्न सकेनन्। मण्डल ५ हजार ३५४ मत ल्याएर दोस्रो भए। भँगाहामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का संजीव कुमार साह ५ हजार ६१७ मत ल्याएर विजय भएका छन्।

महोत्तरीकै मटिहानी नगरपालिकामा पनि अर्का विजय पराजित भएका छन्। नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजय कुमार चौधरी चुनावमा पराजित भएका हुन्।

नगरप्रमुखको दौडमा उनी पाँचौ हुन पुगे। चुनावमा उनले १ हजार १९९ मत मात्रै ल्याए। सो नगरपालिकामा लोसपाका हरि प्रसाद मण्डल ४ हजार ३ मत ल्याएर विजयी भएका छन्।

यता, ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विजयले भने आफ्नो नामलाई सार्थकता दिएका छन्। माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका विजय प्रकाश वनेम निर्वाचित भएका हुन्।

उनी २ हजार ६०९ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन कुमार थत्लुङ २ हजार ५२ मत ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell