PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पूर्वमा कांग्रेसभन्दा एमाले अघि, गण्डकीमा एकीकृत समाजवादी भन्दा जनमोर्चा बलियो : अन्य प्रदेशमा के छ अवस्था ?



प्रकाश भण्डारी

पूर्वमा कांग्रेसभन्दा एमाले अघि, गण्डकीमा एकीकृत समाजवादी भन्दा जनमोर्चा बलियो : अन्य प्रदेशमा के छ अवस्था ?

काठमाडौं : स्थानीय तह निर्वाचनमा ३४ हजार ८३८ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार ७ वटै प्रदेशमा गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फबाट प्रतिनिनिधि निर्वाचित भएका छन्।

पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस ३२७ ठाउँमा प्रमुख/अध्यक्ष जितेर पहिलो शक्ति बनेको छ। २०७४ सालको स्थानीय तहमा २९४ पालिकामा जितेको नेकपा एमाले यसपटक २०५ ठाउँमा जितेर दोस्रो बनेको छ। नेकपा माओवादी केन्द्र यसपटक पनि तेस्रो बनेको छ। १२१ ठाउँमा माओवादीले प्रमुख/अध्यक्षमा जितेको छ।

जहाँ कांग्रेस भन्दा एमाले अघि रह्यो

प्रदेश १ मा जित निकाल्ने नेपाली कांग्रेसका भन्दा नेकपा एमालेका जनप्रतिनिधिको संख्या धेरै छ। ५ हजार ९७४ जना निर्वाचित भएकोमा एमालेका २ हजार ७६२ जना छन् भने कांग्रेसका २ हजार ३०३ र माओवादी केन्द्रका ५४९ जना मात्रै निर्वाचित भएका छन्। प्रमुखमा पनि एमालेका २३ जनाले जित्दा कांग्रेसका २२ जनाले मात्रै चुनाव जितेका छन्। अध्यक्षमा भने कांग्रेस नै अगाडि छ।

एमालेले २४ जित्दा कांग्रेसले ४६ गाउँपालिकाको अध्यक्ष जितेको छ। जनता समाजवादीका ११२ जना उम्मेदवारले जित निकाल्दा एकीकृत समाजवादीका १०१ जना मात्रै जनप्रतिनिधि सफल भए। राष्ट्रिय जनमोर्चा प्रदेश १ मा शून्य भएको छ। 

जसपा र एमाले मधेशमा उस्तै

मधेश प्रदेशमा सबैभन्दा बढी जनप्रतिनिधि जित्‍नेमा नेपाली कांग्रेस नै अगडि छ। जम्मा ६ हजार ६०२ जना निर्वाचित भएकोमा कांग्रेसका २ हजार १८३ र नेकपा एमालेका १ हजार ४६७ जनप्रतिनिधिले जित हासिल गरे। अरु ठाउँमा चौथो बनेको जसपा मधेशमा भने तेस्रो शक्तिका रुपमा देखिएको छ।

मधेशमा माओवादी केन्द्रलाई पछि पारेको जसपाले २५ पालिका जितेको छ भने माओवादी केन्द्रले ९ पालिकामा मात्रै जित निकालेको छ। जसपाका १ हजार २०२ जना जनप्रतिनिधि निर्वाचित हुँदा माओवादीबाट त्यसको झण्डै आधा, ६८० जना मात्रै निर्वाचित भएका छन्।

वाग्मतीमा नाजुक जसपा

मधेश प्रदेशमा माओवादी भन्दा बढी बलियो देखिएको जसपा वाग्मतीमा आइपुग्दा भने अस्तित्व रक्षा गर्न मुस्किल अवस्थामा देखिएको छ। जम्मा ५ हजार ७७८ जना निर्वाचित हुँदा जसपाको भागमा ३ जना मात्रै छन् जित निकाल्ने उम्मेदवार।

नेपाली कांग्रेसका २ हजार ५००, नेकपा एमालेका २ हजार ४३, माओवादी केन्द्रका ९ सय ६८ र एकीकृत समाजवादीका १ सय १२ जना वाग्मती प्रदेशका पालिकाहरुमा विभिन्न पदमा निर्वाचित भएका छन्। 

गण्डकीमा एकीकृत समाजवादी भन्दा जनमोर्चा बलियो

अरु प्रदेशमा कतै शून्य त कतै निकै कमजोर अवस्थामा रहेको छ राष्ट्रिय जनमोर्चा। यद्यपि, स्थानीय तह निर्वाचनको परिणाम अनुसार गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी भन्दा  जनमोर्चा बलियो देखिएको छ। यहाँ जनमोर्चाका जनप्रतिनिधि ५९ जना छन् भने एकीकृत समाजवादीका जनप्रतिनिधि २० जना मात्रै।

गठबन्धनका तर्फबाट गण्डकीमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख नै जितेको भए पनि एकीकृत समाजवादीको अवस्था गण्डकीमा नाजुक देखिएको हो। नेपाली कांग्रेसका १ हजार ९७९ जना जनप्रतिनिधिले जित्दा एमालेका १ हजार ६७८ जना निर्वाचित भएका छन्। माओवादीका ८३१ जना जनप्रतिनिधि निर्वाचित हुँदा जसपाका २०२ जनाले सफलता पाएका छन्। 

लुम्बिनीमा एकीकृत समाजवादी कमजोर

स्थानीय तह निर्वाचनमा लुम्बिनीमा जम्मा ५ हजार १११ जना निर्वाचित भएका छन्। जसमा कांग्रेसबाट १ हजार ९७९, एमालेबाट १ हजार ६७८ जना, माओवादीबाट ८३१, जसपाबाट २०२ जना निर्वाचित भएका छन्।

एमालेको बलियो पकड क्षेत्र मानिएको लुम्बिनीमा एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादी भने कमजोर देखिएको छ। जम्मा १६ जना जनप्रतिनिधिले मात्रै लुम्बिनिमा एकीकृत समाजवादीका तर्फबाट जितेका छन्। जबकि त्यसभन्दा धेरै जित्नेमा लोकतन्त्रिक समाजवादीका ९३ जना र जनमत पार्टी ३४ जना छन्। 

कर्णालीमा माओवादीले पछार्‍यो एमालेलाई

अरु ठाउँमा एमालेले माओवादी केन्द्रलाई पछि पार्दा कर्णाली प्रदेशमा भने माओवादीले एमालेलाई पछारेको छ। जनप्रतिनिधिका हिसाबले कर्णालीमा कांग्रेस पहिलो र माओवादी दोस्रो पार्टी बनेको छ। कांग्रेसबाट १ हजार २५१ जनाले जित्दा माओवादी केन्द्रबाट १ हजार १२५ जनाले जितेका छन्। १ हजार ३७ जना जनप्रतिनिधि एमालेका छन्। एमाले यहाँ तेस्रो भएको हो। कर्णालीमा एकीकृत समाजवादीका १८० जनप्रतिनिधि निर्वाचित भएका छन्।  

सुदूरमा को बलियो ?

सुदूरपश्चिममा ३ हजार ७८४ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। कांग्रेसबाट १ हजार ७४३ जना जनप्रतिनिधि जित्दै पहिलो बन्दा एमालाे दोस्रो पार्टी बनेको छ। एमालेबाट १ हजार २२० जना जितेका छन्। 

तेस्रो बनेको माओवादी केन्द्रबाट ४५९ जना र चौथो दल नेकपा एकीकृत समाजवादीबाट १५१ जनप्रतिनिधिले जितेका छन्। प्रदेश सभामा एकीकृत समाजवादी सुदूर पश्चिममा पहिलो दल भए पनि स्थानीय तह निर्वाचनमा भने कमजोर देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell