PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

यासीन मलिकलाई जन्मकैदको सजाय, गर्थे कश्मीरलाई भारत र पाकिस्तानबाट स्वतन्त्र बनाउने वकालत



पहिलोपोस्ट

यासीन मलिकलाई जन्मकैदको सजाय, गर्थे कश्मीरलाई भारत र पाकिस्तानबाट स्वतन्त्र बनाउने वकालत
Photo : ANI

कश्मीरका अलगाववादी नेता यासीन मलिकलाई जन्मकैदको सजाय सुनाइएको छ। आतंकवादी संगठनहरुलाई आर्थिक सहयोग गरेको ठहर गर्दै एनआइए अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

यासीनलाई दुईवटा अलग-अलग मुद्दामा जन्मकैदको फैसला सुनाइएको हो। यस्तै, उनीविरुद्धको दश अन्य मुद्दामा १०-१० वर्षको जेल सजाय पनि सुनाइएको छ। यासीनलाई १० लाख जरिवाना तिर्न पनि अदालतले भनेको छ।

उनले आफूलाई सुनाइएको सजायकोविरुद्ध अपिल गर्न सक्नेछन्। तर, दोषी ठहर भएको विषयमा पुनरवालोकन माग गर्न भने सक्दैनन्।

यासीनविरुद्ध आतंकवादीहरुलाई आर्थिक सहयोग गरेको सँगै भारतविरुद्ध युद्ध सुरु गरेको, अपराधिक साजिश गरेको, गैरकानुनी गतिविधिमा सहभागी भएको लगायतका आरोपहरु लगाइएका थिए। स्थानीय संचारमाध्यमहरुका अनुसार यासीनले उनीविरुद्ध लगाइएका सबै आरोपहरु अदालतमा स्वीकार पनि गरेका छन्।

यासीन जम्मू कश्मीर लिबरेशन फ्रन्टका संस्थापक र अध्यक्ष समेत थिए। सन् १९८९ पछि उक्त संगठनले कश्मीर घाटीमा सशस्त्र विद्रोहको नेतृत्व गरेको थियो। यासीनले जम्मू र कश्मीरलाई भारत र पाकिस्तान दुवैबाट स्वतन्त्र बनाउने पक्षमा वकालत गर्दै आएका छन्। पछि उनले सशस्त्र विद्रोह छाडेर वार्तामा आए पनि कश्मीरलाई भारत र पाकिस्तानबाट स्वतन्त्र बनाउने पक्षमा अडिग थिए। हाल उनी तिहाड जेलमा कैद छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell