PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

संसदमा गठबन्धनविरुद्ध ओलीको आरोपैआरोप : निर्वाचनमा धाँधली भयो, एमाले सिध्याउँछु भन्ने हक कसले दियो?



पहिलोपोस्ट

संसदमा गठबन्धनविरुद्ध ओलीको आरोपैआरोप : निर्वाचनमा धाँधली भयो, एमाले सिध्याउँछु भन्ने हक कसले दियो?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दवाव दिएकै कारण स्थानीय तह निर्वाचन भएको दावी गरेका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनले निर्वाचन गर्न नचाहिरहेको अवस्थामा निर्वाचन आयोग र एमालेको दवावका कारण निर्वाचन सम्भव भएको बताएका हुन्।

उनले स्थानीय तह निर्वाचनका क्रममा गठबन्धनले धाँधली गरेको आरोप समेत लगाए। रुकुम, हुम्ला, उदायपुर, ताप्लेजुङ लगायतका स्थानमा गठबन्धनका कार्यकर्ताले एमालेविरुद्ध हिंसामा उत्रेको उनको आरोप थियो।

‘निर्वाचन स्वच्छ हुन सकेन। धाँधलीरहित भएन। सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर हेरेको छ। उम्मेद्वारको घरमा बम पड्काइएको छ। परिवार घाइते भए। घर भत्किए। के निर्वाचन शन्तिपूर्ण भयो? कति ठाउँमा बम पड्किए, सबै ठाउँमा प्रतिपक्षको विरुद्धमा आक्रमण भएको छ,’ ओलीले भने।

ओलीले गठबन्धन प्रतिपक्ष सिध्याउन लागिपरेको आरोप पनि लगाए। नीति तथा कार्यक्रममा सबै मिलेर अघि बढ्ने उल्लेख गरेको शेरबहादुर देउवा नेतृत्वको सरकार एमालेको पत्तासाफ गर्न लागेको उनको आरोप थियो।

‘सिध्याउँछु भन्ने हक कहाँबाट आयो? समाप्त पारिदिन्छौं, टर्च बालेर खोज्ने बनाउने, टर्च बालेर नि नभेटिने ठाउँमा पुर्‍याउने? नीति तथा कार्यक्रमको १४४ औं बुँदामा पुग्दा सबै नेपाली बिच सद्भाव र सहमति हुने उल्लेख छ। पत्तासाफ गर्ने अनि सद्भाव हुन्छ? राज्यसंयन्त्रको दुरुपयोग गरेर प्रतिपक्षलाई हराइएको छ।’

२०७४ सालमा पनि गठबन्धन भएको भन्दै ओलीले त्यसबेलाको गठबन्धन भद्धा, हिंसात्मक नभएको दाबी गरे।

‘यसपटक नयाँ कीर्तिमान भयो। २०१५ सालदेखिको निर्वाचनको अभ्यास हेरेँ। राज्य तहबाटै कब्जा गर्ने काम त हुँदैन थियो होला। निर्वाचनमा प्रतिपक्ष सिध्याउँछु भनेर गरेको छ। मैले दुनियाँमा प्रतिपक्षलाई सिध्याउछु भनेर सत्तापक्ष लागेको कतै सुनेको छैन,’ ओलीले भने।

एमाले नै संविधान निर्माण गर्ने वैधानिक पार्टी भएको ओलीले संसदमा बताएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले भने, ‘बहुदल आएपछि फुत्त निस्किएर सहभागिता जनाएको पार्टी होइन। आफूले लिएको विचार गलत भएपछि कर्भट बदलेर आइपुगेको पार्टी होइन। लोकतन्त्रका लागि दृढतापूर्वक संघर्ष गरेर आएको हो।’

वैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम हालसम्म सार्वजनिक नभएकोमा पनि उनले प्रश्न उठाए। ओलीले आउने संघीय निर्वाचनपछि एमालेले सरकारको नेतृत्व गर्ने समेत दाबी गरे।

‘अपोजिसनलाई जहिल्यै गभरनेन्ट इन वेटिङ भनिन्छ। एमाले सही अर्थमा गभरमेन्ट इन वेटिङ हो,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell