PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

क्यान ईपीएलको विवाद चुलिँदो : कानुनी उपचार खोज्न सर्वोच्च पुगे ईपीएल र फ्रेन्चाइजी



पहिलोपोस्ट

क्यान ईपीएलको विवाद चुलिँदो : कानुनी उपचार खोज्न सर्वोच्च पुगे ईपीएल र फ्रेन्चाइजी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध एभरेस्ट प्रिमियर लिग (ईपीएल) सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेको छ। ईपीएलको आगामी संस्करणलाई स्वीकृति नदिने क्यानको निर्णयलाई लिएर कानुनी बाटो रोजेको हो।

क्यानले एभरेस्ट प्रिमियर लिग (ईपीएल)लाई लक्षित गरेर जारी गरेको पछिल्लो विज्ञप्ति र नेपाली टी-२० लिग सञ्चालनमा लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता गैह्र कानुनी र अपारदर्शी भन्दै ईपीएल असन्तुष्ट छ।

अन्तरिम आदेशको माग सहित ईपीएलले रिट दायर गरेको जनाएको छ। क्यानले अनुमति नदिएसँगै ईपीएल र यसका ६ वटा फ्रेन्चाइजले कानुनी उपचार खोज्ने निर्णय गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै फ्रेन्चाइज नेपाल टी-२० लिगको घोषणा गरेसँग एभरेस्ट प्रिमियर लिग र क्यानबिच लफडा सुरु भएको थियो।

सोमवार एभरेस्ट प्रिमियर लिगका फ्रेन्चाइजी टोलीले चारवटा संस्करणहरु पूरा गरिसक्दा आफ्नो लगानी ठूलो परिसकेको भन्दै नेपाली कर्पोरेटका लागि गलत सन्देश गएको जनाएका थिए। उनीहरुले क्यानको अन्य गतिविधिमा पनि सहयोग र समर्थन नरहने समेत उल्लेख थियो।

यसको लगत्तै अर्को दिन क्यानले विज्ञप्ति निकाल्दै ईपीएफलले 'धम्की पूर्ण' विज्ञप्तिमा ध्यानकर्षण गरेको जनाएको थियो। त्यसपछि बसेको क्यानको बैठकले ईपीएल लगायतका फ्रेन्चाइज लिगहरुलाई क्षेत्रीय मान्यता दिन सकिने जनाएको थियो।

'नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेञ्चाइज्ड लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर सहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो,' क्यानको बोर्ड बैठकको निर्णयमा भनिएको छ।

नेपालमा ईपीएलबाहेक पनि धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग फ्रेन्चाइज लिगका रुपमा अस्तित्वत्वमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell