
हेटौँडा : हेटौँडामा यसै महिनाबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा जेठ १९ गतेदेखि २८ गतेसम्म चौँथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको हो।
हेटौँडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा एक विदेशीसहित दशवटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
संघका अध्यक्ष टीकाराम लामाका अनुसार प्रतियोगितामा करिब १ करोड १७ लाख खर्च अनुमान गरिएको छ। प्रतियोगितामा हेटौँडाको विजय युथसहित ए डिभिजन र मोफसलका चर्चित क्लबहरुले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगदको व्यवस्था समेत गरिएको छ।