PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौंमा प्रमुख दलमाथि कसरी भारी बने बालेन ? 'बजा लौरी डाङ्डुङ'को शैलीमा, जादु चल्नुको रहस्य के हो?



पहिलोपोस्ट

काठमाडौंमा प्रमुख दलमाथि कसरी भारी बने बालेन ? 'बजा लौरी डाङ्डुङ'को शैलीमा, जादु चल्नुको रहस्य के हो?

  • नेत्र तामाङ र प्रकाश भण्डारी-

काठमाडौं महानगरपालिकामा जित निकाल्नु प्रमुख दलको प्रतिष्ठाकै विषय हो।

अघिल्लोपटक मेयर पद गुमाएको कांग्रेस कसैगरी पनि काठमाडौं आफ्नो वर्चश्व फिर्ता गराउन चाहन्थ्यो यसपटक। त्यसैले कांग्रेस काठमाडौं आफ्नो भागमा पारेर गठबन्धनसँग तालमेलमै उत्रियो। टिकट हात लाग्यो सिर्जना सिंहलाई। चुनावी मैदानमा आफूलाई अझ सहज बनाउन एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठलाई उपमेयरमा अघि सारियो।

यता अघिल्लोपटक पनि मेयर जितेको दल एमालेले चर्चित पात्र केशव स्थापितलाई अगाडि सार्‍यो। २५ वर्षअघि काठमाडौंमा देखिनेगरी सुधारमा उत्रिएका स्थापितको उम्मेदवारीले काठमाडौं महानगरको चुनावी 'ब्याटल' रोचक हुने देखियो। अझ उपमेयरमा युवा उम्मेदवार सुनिता डंगोलको उपस्थितिले एमाले बलियो देखिँदै आयो।

काठमाडौंको भावी मेयर को बन्ला – केशव या सिर्जना? कौतुहालताको जवाफ वैशाख ३० गते 'ब्यालेट'बाट आउँदैथियो।

जब मतगणना शुरु भयो – शुरुबाटै लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनले दुई 'ट्रेडिसनल क्यान्डिडेट'लाई अगाडि बढ्नै दिएनन्। स्थापित ब्रान्ड सूर्य र रुखविरुद्ध लौरो लाग्न सुरु भइहाल्यो - प्रारम्भिक मतगणनादेखि नै।

उनै बालेनले एकोहोरो अग्रता जमाउँदै काठमाडौंको भावी मेयर को भन्ने प्रश्नको जवाफमा दुई हेभिवेटको नाम मेटाइदिए जेठ १२ गते।

६१ हजार ७६७ मत बालेनले पाउँदा कांग्रेसकी सिर्जना र एमालेका स्थापतिले ३८ – ३८ हजार मत बाँडे। शुरुवातमै बालेनले लिड गरेपछि कोर कुर्दाकुर्दै सिर्जना र स्थापितलाई लौरोले विस्थापित गरिदियो। र एमालेमाथि मात्र हैन, गठबन्धनमाथि नै लोककथामा आउने 'बजा लौरी डाङडुङ' शैलीमा बालेनको लौरोले काठमाडौंमा जादु चलायो।

कसरी भयो त सम्भव?

बालेनको पक्षमा एकोहोरो मत आउन थालेदेखि नै कांग्रेस र एमालेका नेता कार्यकर्ता घोत्लिन थालेका थिए। जित नै भएपछि त तीन छक परेका छन् उनीहरु।

प्रमुख दलले उम्मेदवार फाइनल नगर्दासम्म ‘जाबो र्‍यापर’ को ट्याग लगाइदिएका बालेन भने ९० हजार ८३५ मत आफ्नो पक्षमा आउने भन्दै प्रचारमा लागिसकेका थिए। कालो चश्मा, झप्प दारी र कोटमा देखिने बालेन ‘आइकन’ बन्दै थिए। उनको प्रचार यति सहजै भयो कि सोसल साइटमा उनको एकछत्र राज नै चल्यो। प्रमुख दल कांग्रेस, एमाले उम्मेदवार टुङ्ग्याउन मारमुङ्ग्री गरिरहेको बेला बालेन भने युट्युबदेखि टिकटकसम्म छाइरहे।

मुलधारे मिडिया समाचारको खोजीमा थिए - मेयरका उम्मेदवार को भन्नेमा। अरु उम्मेदवार टुंगो नलाग्दा त्यो 'प्लेटफर्म' बालेनले मजाले प्रयोग गर्न पाए। अझ युवामाझ लोकप्रिय र्‍याप गीतले उनको चुनावी कार्यक्रम र वार्ताहरु त्यसै आकर्षक बनाइदियो। जसले गर्दा वृद्धदेखि बालकसम्मले उनलाई चिन्ने मौका पाए।

नतिजा बालेनको पक्षमा पर्नुको केही कारण

सकारात्मक प्रचार

बालेन चुनावका लागि नयाँ अनुहार हुन्। यसैले पनि राजनीतिमा उनका कमीकमजोरी बाहिर आउने विषय रहेन। स्वच्छ छवि त्यसै बनिदियो र उनको पक्षमा सामाजिक सञ्जालमा माहोल छायो। उनको प्रचार गरिदिने र बयान गरिदिने अभियन्ताहरु थपिए देश विदेशबाट। अनि उनको पक्षमा माहोल बन्यो। चुनाव नजिकिँदा आफ्ना आफन्तलाई विदेशबाट बालेनका लागि मत माग्ने बढे। जसले पनि बालेनको पक्षमा मत बढ्ने आधार बन्यो।

आत्मनिर्भर मतदाता

काठमाडौं देशकै आर्थिक राजधानी पनि हो। यहाँका मतदाता कम्तीमा पनि आत्मनिर्भर छन्। पार्टीको ह्वीप नमानेमा गाउँतिरजस्तो सहयोग नपाइएला भन्ने डर यहाँका मतदातामा हुँदैन।

अर्को कारण सामाजिक निर्भरता। स्वास्थ्य शिक्षा सर्भसुलभ भएकोले केही परे छिमेकी वा पार्टीका नेता कार्याकर्ताले हेरिदिँदैन भन्ने डर यहाँका मतदातालाई छैन। यही कारणले पनि यहाँ पार्टीका नेता र कार्यकर्तासँग मतदाता डराइरहनुपर्ने बाध्यता छैन। त्यसैले काठमाडौंका मतदाताले पार्टीको छापमा स्वस्तिक चिन्ह टास्नुपर्छ भन्ने मान्यता तोड्दा बालेनको पक्षमा मत खस्यो। अर्को पक्ष भनेको काठमाडौंमा 'बुथ कब्जा' गर्ने वातावरण हुँदैन। दुर्गम ठाउँमा मनै नपर्ने उम्मेदवार आउँदा पनि शक्तिको आडमा बुथ कब्जा गर्ने परम्परा समेत अझै छ। जसले ट्रेडिसनल पारामै मत खस्छ। तर यहाँका मतदातालाई यो बाध्यता छैन।

परिवारवादको ट्यागले सिर्जनालाई क्षति

नेपाली कांग्रेसबाट काठमाडौंको मेयर बन्न सिर्जना सिंह, निलकाजी शाक्य, हरिप्रभा खड्की, सुसन वैद्यदेखि प्रगतिमान रञ्जितको नाम चर्चामा थियो। तर पार्टीले सिर्जनालाई पत्यायो।

उनको नाम फाइनल भएपछि परिवारवादको ट्याग लाग्यो। प्रचारमार्फत् माहोल बनाउन नपाउँदै पहिलो गाँसमा ढुंगा भने झैं भयो यो उनीमाथि। अझ १४ औं महाधिवेशनमा प्रकाशमानले पार्टी सभापतिमा जिताउन शेरबहादुर देउवालाई सघाएस्वरुप पुरस्कार पाएको भन्दै आलोचना खेप्नुपर्‍यो। सिर्जनालाई ‘भाउजु’ का रुपमा प्रस्तुत गर्दै गर्दा सामाजिक सञ्जालमा उनीमाथि आलोचनाको वर्षा शुरु भइसकेको थियो। महिला अभियन्ता र पक्षधरले उनको समर्थन गरेपनि कांग्रेस भित्रै भने असन्तुष्ट फैलिएको थियो। जसका कारण पनि सिर्जनाको पक्षमा माहोल बन्न सकेन।

केशव स्थापितको विवादित बोली

उट्पट्याङ शैलीका एमाले उम्मेदवार स्थापितको रवाफ कहाँसम्म देखियो भने उनले आफूसँग प्रतिस्पर्धा गर्न सक्ने अर्को उम्मेदवार नै नभएको दलिल प्रस्तुत गरे। मनोनयनकै दिन ‘गेम इज ओभर’भनेका थिए स्थापितले।

वैशाख १५ गते केशव स्थापित एकाएक विवादमा तानिए। नेसनल कलेजले ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा स्थापितलाई लागेको ‘मी टु’ आरोपबारे प्रश्न आयो।

प्रश्न गर्नेमाथि आक्रोशित भए र उनको रिस पोखियो, 'यु आर नाइस लेडी तर तपाईको थुतुनो ठीक छैन।’ उनको यो आक्रोश निकै महँगो भयो। यतिमात्र हैन उनले कांग्रेस उम्मेदवार सिर्जनालाई तागतै नभएको महिलासम्म भन्न भ्याए।

‘गणेशमानको बुहारी भनेर आएको छ। तर तागतै छैन। तागतै नभएको महिला आएर शहर हाँक्छु भन्न आउने, उ हुँदैन। सिधै बहिस्कार गर्नुपर्छ। एक भोट पनि हाल्नुहुँदैन,’ स्थापितले वैशाख १८ गते पाखुरा सुर्काए।

सोही दिन बालेन साहलाई अन्तर्राष्ट्रिय ठग भन्न भ्याए स्थापितले।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त म काठमाडौंमा जन्मेको। यो त यहाँको शाह हैन रहेछ। मधेशतिरको शाह रहेछ। सुरुमै यस्तो ठग कुरा गर्‍यो। दर्तावाल ठग। जनतासँग आँखा जुधाएर कुरा गर्न सक्ने आँटै रहेनछ,’ स्थापितले भने।

जनतासँग सीधा नजरले हेर्न नसकेर बालेनले कालो चश्मा लगाएकोसमेत उनको आरोप रह्यो। स्थापितले आफ्नो बोलिकै कारण निर्वाचन आयोगबाट खप्की खानुपर्‍यो। आयोगले आचार संहिता उल्लंघनमा उनलाई पटकपटक स्पष्टिकरण सोध्यो। एकपछि अर्को विवादमा फसिरहेका स्थापितलाई आयोगको स्पष्टिकरणले अनैतिक पात्रका रुपमा त स्थापित गर्‍यो नै उनीमाथि चुनावका बेलामा थप दबाव बढाएको थियो।

यसो त स्थापित चुनावी घोषणापत्र सार्वजनिक गर्दा ‘पशुपति आर्यघाट मलामीलाई नै मरौँ–मरौँ लाग्ने बनाउँछु’ भन्ने बोलीले पनि विवादित भए। 

यद्यपि, उनको हारमा रामवीर मानन्धर, विद्यासुन्दर शाक्य फ्याक्टर पनि हाबी भयो। मेयरको दावी गरिरहेका यी दुवैपात्र दुवैमध्ये सबैभन्दा खरो रुपमा रामवीर उत्रिए एमालेभित्रै। उनले काठमाडौंमा एमाले क्लिन स्विप हुनेसम्मको कुरा गरे। विद्यासुन्दर चुनावी सभाहरुमा देखिएनन्। मतपत्रमा त्यो असन्तुष्टि प्रष्टिएको थियो। मनोनयका दिन राष्ट्रिय सभागृहको कुनामा भेटिएका उनी स्थापितको पक्षमा खुल्ने कुरै थिएन। हुन त एमाले नेताहरुले शाक्य र स्थापित बिच टसल छैन भन्ने देखाउन जबरजस्त फोटो सार्वजनिक गरेको थियो, स्थापित र शाक्यले हात मिलाएको।

आप्रवासी मतमात्र हैन रैथाने मत पनि बालेनलाई

काठमाडौंका परम्परागत मतदाता स्वतन्त्र उम्मेदवारलाई आप्रवासी भन्न मन पराउँछन्। त्यसैले यस्ता उम्मेदवारीलाई 'जिस्क्याउने उम्मेदवारी' का रुपमा उनीहरु हेर्छन्। र, मत उनीहरुको पक्षमा जाने गरेको पनि स्वीकार्छन्।

यसपटक यस्ता मत बालेनले पाउने भनिए पनि रैथाने मत भने नतान्ने विश्वास उनीहरुको थियो। गुठीको मत निर्णायक हुने पनि भनिएको थियो। तर यहाँका रैथाने युवाको मत पनि बालेनले ताने। युवामाझ लोकप्रिय र्‍याप गीतमार्फत् बेथितिको विरोधमा उत्रने भएकाले युवाले बालेनलाई मत दिएको कतिपयको बुझाइ छ।

काठमाडौंको बाहिरी क्षेत्रको मतमा भारी मतले अग्रता लिएका बालेनलाई सिंह र स्थापितले भित्री शहरको गणना हुँदा पछार्ने आँकलन नभएका होइनन्। तर, ती आँकलनले गणनामा आकार भने लिएन। केही ठाउँमा सिंह र स्थापितले लिएको अग्रता बालेनले बाहिरी क्षेत्रमा लिएको अग्रताको छेउमा पनि पुग्न सकेन।

बालेनको आफ्नै पूर्व तयारी

नेपाली कांग्रेस काठमाडौंको एक नेताका अनुसार बालेनले धेरै अघिबाटै पूर्व तयारी गरेका थिए।

‘बालेन जस्तै स्वतन्त्र त सुमन सायमि पनि हुन्। अझ ऊ महानगरमा एक्टिभ मान्छे हो। उसलाई पनि खासै मत आएको छैन। यसमा कहीँ न कहीँ हामीप्रतिको असन्तुष्टि हो। बालेन एकाएक आएका होइनन्। हामीले यसबारेमा नेताजीलाई भनेका थियौं। तर, उहाँले वास्ता गर्नु भएन। नजरअन्दा गर्दा आज यस्तो भयो,' नेपाली कांग्रेसको महानगरमा सक्रिय एक नेताले नाम नबताउने शर्तमा भने, 'मैले भनेको थिएँ अहिलेको चुनाव पहिलाको जस्तो छैन। यो मानिसले हामीलाई अप्ठेरो पार्न सक्छ भनेका थियौं।'

पक्कै पनि बालेनले 'घरभेटी सम्झाउ अभियान' ७ महिनादेखि चलाउँदै आएका थिए। हरेक घरमा बस्ने यङ जेनेरेसनबाट बालेनले यस्तो अभियान चलाएका थिए। यसो त बालेनले यहाँका स्थानीय संस्कृतिक महत्वका विषयलाई पनि क्यास गरेका छन्। यो उनको २८ बुँदे घोषणापत्रमा प्रस्ट झल्कइन्छ। ग्रेटर नेपा: देखि बस स्टपहरुमा फल्चा बनाउने उद्घोष उनको घोषणापत्रमा पढ्न सकिन्छ।

एमालेले भने बालेनको उम्मेदवारीलाई नजरअन्दाज नै गर्न नसकिएको मतगणनास्थलमा खटिएका प्रदेश सांसद गणेशप्रसाद तिमल्सिनाले बताए। मत गणनामा नेकपा एमालेका तर्फबाट व्यवस्थापनको जिम्मेवारी पाएका एमाले वाग्मती प्रदेश सभाका सदस्य दुलालले आफूहरु मतदानको अघिल्लो दिनमात्रै साहको व्यापक तयारीबाट झस्किएको बताए। दुलालले पहिला साहको चुनावी तयारी र प्रचारलाई खासै वास्ता नगरेको स्वीकारे।

‘चुनावको अघिल्लो दिन अलिकति साहको तयारी देखेर हामी झस्कियौं। त्यसअघि उनीहरु २०/२५ जना जति मात्रै हिँड्थे। हामीलाई त पहिला रन्जु र किशोर थापाकै जस्तो त होला, त्यति धेरै असर हुन्न भन्ने लागेको थियो,’ दुलालले भने। यसको झल्को स्थापितको बोलीबाट पनि प्रस्तुत हुन्थ्यो। उनले बालेनलाई बेला बेला 'फुच्चे' भन्न भ्याएकै हुन्थे। बालेनले सम्मानपूर्वक स्थापितको हात टाउकोमा राख्दा स्थापतिले सफल इन्जिनियर भव: भन्दै आशीर्वादसम्म दिन भ्याएका थिए।

एमालेमा व्यापक अन्तर्घात, कांग्रेसबाट आफ्नैलाई असहयोग

काठमाडौंका वडा वडाको मत हेर्ने हो भने सूर्य चिन्हदेखि रुख चिन्हमा प्रशस्त अन्तर्घात भएको देखिन्छ। मेयरमा लौरोमा मत दिने र बाँकी मत सूर्यमा खसेको देख्दा मतगणनामा बसेका पार्टीका प्रतिनिधिहरु चुकचुकाइरहेका देखिन्थे।

एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले ६८ हजार मत पाउँदा मेयर पदमा झन्डै ३० हजार मत कम आयो। यो २०७४ मा कांग्रेसकी हरिप्रभा जित्दा राजुराजा जोशी पराजित भएकै प्रकरण दोहोरिए झैं देखिन्थ्यो।

यता एमालेबाट विवादित व्यक्ति स्थापित मेयरमा भिड्न आएपछि झन्डै ‘सियोर सट’ जित निकाल्ने दाबीका साथ मैदानमा ओर्लिएकी सिर्जनाको हालत यस्तै भइदियो।

सिर्जनालाई सत्ता गठबन्धनका पाँच दलको साथ थियो। काठमाडौं महानगरमा महिला मेयरका रुपमा पहिलो मौका पाउँदै थिइन्। तर, उनको पक्षबाट पनि केही मत बदर हुने गरी मेयरमा लौरो र रुख दुवैमा परेको देखियो। कांग्रेसबाट पनि धेरै मत बालेनको पक्षमा परेको मतदानस्थलबाट प्रस्टै थाह हुन्थ्यो। यसैले पनि यसपटक बालेनको जित सहज बनिदियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell