
काठमाडौं : करिब ४ वर्ष अगाडि परेको जाहेरीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। हुन त प्रहरीले २० वर्ष पुरानो घटनाका फरार अभियुक्तलाई समेत प्रहरीले पक्राउ गर्न नसकेको भने होइन। तर कुनै घटनालाई सामान्य रुपमा लिँदा प्रहरीले अभियुक्तलाई समयमा नै पक्राउ गर्दैन। जसको कारण प्रहरी प्रशासन बदनाम हुने गरेको छ।
सुनसरीको इटहरीमा भएको एउटा घटनामा प्रहरीले ४ वर्ष अगाडि जाहेरी पर्दा वास्ता नगरे पनि अहिले भने अभियुक्तलाई समातेको छ। घटना पुन: बाहिर आएपछि उठेको दवावका कारणमात्र प्रहरीले अभियुक्तलाई समातेको हो। 'नेपाली उखान दूध पनि हराउनु बिरालो पनि कराउनु' पक्कै भएको होइन।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ स्थित ब्लुमिङ् लोटस् इङ्गलिस् स्कूलका प्रिन्सिपल राज खड्का भन्ने राजकुमार खड्कालाई नियन्त्रणमा लिएको हो। उनले आफ्नै स्कूलमा पढ्ने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भन्दै २०७४ साउन २६ गते धरान स्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा पुर्याई स्कूल रेष्टिकेट गरिदिने भनी धम्क्याई दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो। त्यसपछि ती छात्राले स्कूल छाडिन्। तर, पनि शिक्षक खड्काले अर्कै स्कूलमा पढिरहेकी छात्रालाई विवाह गर्छु भनेर फकाउने र समाजमा बेइजत गरीदिने धम्की दिँदै पटक-पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको पीडितले बताएकी थिइन्।
२०७५ भदै २ गते जिल्ला प्रहरी कार्याललय सुनसरीमा दिएको जाहेरी दरखास्त पछि उनी हालसम्म फरार रहेको भन्दै घटनामा प्रहरी उदासिनता देखिएको थियो। उता आरोपित शिक्षक भने काठमाडौं टोखा नगरपालिका स्थित बानियाटरमा डेरामा बस्न थालेका थिए।
सौन्दर्य प्रतियोगितको नाममा करणी गरेको घटना बाहिरिएपछि फेरि खड्काको केस बाहिरिएको थियो। त्यसपछि प्रहरी माथि प्रश्न फेरि उठ्यो। त्यसैको दबाव स्वरुप नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले खड्कालाई पक्राउ गर्यो।
२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी थिइन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिए। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। शनिवार प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको थियो। अहिले घटनाको अनुसन्धान भइरहेको छ। यस्ता धेरै घटना छन्, जहाँ घटना सामाजिक सञ्जाल र मिडियामा आएपछि प्रहरी पनि सक्रियता देखाउने छन्।