PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जित हारको मानसिकता त्यागेर काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने हो : सुनिता डंगोल



पहिलोपोस्ट

जित हारको मानसिकता त्यागेर काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने हो : सुनिता डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखमा निर्वाचित सुनिता डंगोलले काठमाडौंलाई कान्तिपुरी नगरी बनाउन सबैको साथ चाहिने बताएकी हुन्।  

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा निर्वाचित घोषणा भएपछि प्रतिक्रिया दिँदै उनले काठमाडौंलाई अरु कुनै शहरसँग तुलना गर्न नहुने बताएकी हुन्।

भनिन्, ‘काठमाडौंलाई अरु शहर जस्तो बनाउनुपर्दैन। देशको अरु शहर शहरसँग पनि तुलना गर्नुपर्दैन। काठमाडौंको मर्म विशिष्ट छ। यो सांस्कृतिक नगर र राजधानी हो। यसलाई कुनै शहर होइन काठमाडौंलाई कान्तिपुरी नगरी बनउने हो।’

उनले काठमाडौंलाई जीवन्त काठमाडौं बनाउन सबै जनप्रतिनिधिले मिलेर काम गर्नुपर्ने बताइन्। जित हारको मानसिकताबाट मुक्त भएर अब सबैले देख्न चाहेको काठमाडौं बनाउन लाग्नुपर्ने बताइन्।

‘जित हारको मानसिकताभन्दा माथि उठेर एकअर्कासँग सहकार्य गर्ने हो,’ उनले भनिन्।

काठमाडौं महानगरको मतदाताले युवाको काँधमा जिम्मेवारी सम्पिएको भन्दै उनले जनताको आशा पूरा गर्न आफूहरु लाग्ने बताइन्।

‘युवालाई विश्वास गर्नुभएको छ। राजनीतिलाई फोहोर खेल, युवा आउने ठाउँ होइन भनिरहँदा यो जित ले आशाको किरण थपेको छ। यो आशाको दीपलाई निभ्न नदिने हो। म होइन हामी भनेर अघि बढ्ने हो,’ सुनिताले भनिन्।

उपप्रमुखमा डंगोलले ६८ हजार ६१२ मत पाउँदै निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३ हजार ६९६ मत पाउँदा राप्रपाकी विनीता मगैयाँले १२ हजार १४१ मत पाइन्। स्वतन्त्रबाटै वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाउँदा विवेकशील साझाकी कीर्ति कंसकारले दुई हजार ५९० मत पाइन्। अन्य उम्‍मेदवारले एक हजार मत कटाउन सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell