इण्डियन प्रिमियर लिग (आईपीएल)मा फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स भिड्दैछन्। दोस्रो क्वालिफायर्सको खेलमा आज साँझ पौने ८ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली आमनेसामने हुँदैछन्।
पहिलो क्वालिफायर्समा राजस्थान गुजरातसँग पराजित भएको थियो। राजस्थानलाई हराएको गुजरात भने फाइनल प्रवेश गरिसकेको छ। अर्कोतर्फ बेङ्ग्लोरले इलिमिनेटरमा लखनउ सुपर जाइन्टलाई हराएको थियो। आजको खेलमा जित निकाल्ने टोलीले फाइनलमा गुजरातसँगको भेट निश्चित गर्नेछ।
प्लेयर्स टू वाच
आईपीएलमा ठूलो पारि खेलेर टिमका लागि संकटमोचक बनिरहेका राजस्थानका बटलरले पछिल्लो खेलमा पनि गुजरातविरुद्ध पनि ८९ रनको पारि खेलेका थिए। भलै उनको टोलीले १८८ रन डिफेन्ड गर्न सकेन। दोस्रो क्वालिफायर्समा पनि उनीबाट ठूलो पारिको आशा गर्न सकिन्छ। त्यस्तै राजस्थानका कप्तान सञ्जु सामसन पनि उच्च लयमा छन्। उनले जारी सिजन १५० भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्। अघिल्लो खेलमा २६ बलमा ४७ रन बनाउँदै बटलरसँग राम्रो साझेदारी बनाएका थिए। बेङ्ग्लोर पनि स्टार खेलाडीले भरिएको टोली छ। एलिमिनेटरमा ठूलो पारि खेल्न नसके पनि बिराट कोहली बेङ्ग्लोरका अनुभवी खेलाडी हुन्, जसले खेलको लय परिवर्तन गर्ने क्षमता राख्छन्। त्यस्तै कप्तान फाफ डुप्लिसिसबाट पनि कप्तानी पारिको आशा गर्न सकिन्छ।
आईपीएलको जारी सिजन सर्वाधिक रन बनाउने खेलाडी बटलर हुन्। उनले १५ खेलबाट ७१८ रन बनाएका छन्। त्यस्तै बेङ्ग्लोरबाट सर्वाधिक रन बनाउनेमा फाफ डुप्लिसिस छन्। उनले १५ खेलबाट ४४३ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा आठौं नम्बरमा छन्।
बलिङतर्फ पनि राजस्थानका युजवेन्द्र चहलले सर्वाधिक २६ विकेट लिएका छन्। बेङ्ग्लोरका वानिन्दु हसरंगा २५ विकेट लिएर दोस्रो नम्बरमा छन्।