PahiloPost

Sep 17, 2024 | १ असोज २०८१

'फेस्टिभ मुड'मा राष्ट्रिय खेलकुद : खेलकुद मन्त्री र मन्त्रालयलाई कस्ले दिन्छ सुझाव?



पहिलोपोस्ट

'फेस्टिभ मुड'मा राष्ट्रिय खेलकुद : खेलकुद मन्त्री र मन्त्रालयलाई कस्ले दिन्छ सुझाव?
तस्बिर:राखेप

काठमाडौं : जेठ १० गते युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको बताए। उनले राष्ट्रिय खेलकुद परिषदको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको भन्दै दशैं तिहारको बिचमा प्रतियोगिता गराउने बताए।

तोकिएको मिति अर्थात् जेठ २२ गतेबाट राष्ट्रिय खेलकुद गराउन नसक्नुका पछाडि तर्कहरु पनि मन्त्रीले अघि सारे। उनले एसियन गेम्स सन् २०२३ सम्म सरेको, मधेश प्रदेश लगायतका प्रदेशहरुमा राष्ट्रिय खेलकुदका लागि तयारी नपुगेको, राष्ट्रिय खेलकुद हुने समयमा कक्षा ११ र १२ को परीक्षा परेको फेहरिस्त लगाए।

अन्त्यमा, उनले बाचा पनि गर्न भ्याए - ‘असोज २८ देखि कार्तिकको ३ को बिचमा राष्ट्रिय खेलकुद गर्छौं। मिति सरेको हो। अरु कुरा सरेको छैन।अब वाहनाबाजीको अवसर छैन।’

बाचै गर्नुपर्ने कारण पनि त्यत्तिकै आएको होइन, राष्ट्रिय खेलकुदको लागि मिति सारेको यो पहिलो पटक पनि होइन। यस सहित तेस्रो पटक नवौं राष्ट्रिय खेलकुदको मिति सरेको हो।

उसो त वैशाख ९ मा बसेको बोर्ड बैठकपछि उत्साहित बनेका राखेपका सदस्य सचिव टंकलाल घिसिङले जेठ २२ भन्दापछि राष्ट्रिय खेलकुदलाई सार्ने विकल्प नै नभएको तर्क गरेका थिए।

'नवौं राष्ट्रिय खेलकुद हतारमा होइन, ढिला गरी सुरु हुने भएको छ। यो पहिल्यै हुनुपर्ने थियो,' उनले भनेका थिए, 'अब चुनाव, चाडपर्व या मौसम भन्न थाल्ने हो भने खेलकुद कहिले गराउने? यो वर्ष नै चुनावी वर्ष छ।'

तर, १० गते मन्त्रालयमा मन्त्री गहतराजले यिनै कारणहरुको विवरण दिएर राष्ट्रिय खेलकुद पछि सरेको बताउँदा सदस्य सचिव घिसिङ चुपचाप उनको छेवैमा थिए।

मन्त्रीले 'वाहनाबाजी'को अवसर नभएको बताइरहँदा राखेपका पूर्व सदस्य सचिव युवराज लामाले भने फेस्टिभ मुडमा खेलकुद गराउने सुझाव मन्त्रीलाई कसले दिँदो रहेछ भनेर प्रश्न गरेका छन्।

'वर्तमान युवा तथा खेलकुद मन्त्रीलाई र मन्त्रालयलाई कस्ले सुझाव दिन्छ होला?,' उनले प्रश्न गरेका छन्, 'दशैंको छुट्टी र भोजभतेर लगत्तै नवौं राष्ट्रिय खेलकुद आयोजना बहुसंख्यक खेलाडी र प्रशिक्षक अनफिट र 'फेस्टिभ स्टेट'मा हुन्छन् भन्ने हेक्का नै नराखी किन त्यस्तो फेस्टिब मुड हुने समयमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गराउनु भयो?'

उनले मन्त्री गहतराजलाई आफूलाई जानकारी नभए विज्ञहरुबाट सुझाव लिन सुझाब दिएका छन्।

'आफुलाई थाहा छैन भने खेलकुदको क्षेत्रमा जीवन नै बिताएका र खेलकुद विज्ञानमा पीएचडी गरेका धेरै विज्ञहरु हुनुहुन्छ कम्तिमा सुझाव सल्लाह लिनु,' उनले भनेका छन्।

अरुबाट सुझाव नलिने भए आफ्नै दलको अखिल नेपाल खेलकुद महासंघ र नेकपा माओवादी केन्द्रीय खेलकुद विभागसँग परामर्श गरेको भए 'बेमौसमी जेठ अन्तिम र असोजको अन्त्य'मा राष्ट्रिय खेलकुद अयोजना गर्ने सुझाव कसैले नदिने तर्क गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell