PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

जघन्य अपराधका घटना हुनै नदिन कानुन बनाउँछौं : गृहमन्त्री खाण



पहिलोपोस्ट

जघन्य अपराधका घटना हुनै नदिन कानुन बनाउँछौं : गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताए।

‘बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्तदूरुस्त बनाइएको छ। त्यस्तो घटना हुनै नदिन आवश्यक कानुनको तर्जुमा गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी गराउन चाहन्छु,’ उनले भने।

खाणले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

‘आयोगले गरेको सिफारिसहरुको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ। यस कार्यका लागि नेपाल सरकारले कार्यदल समेत बनाएको छ,’ उनले भने।

उनले अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज, सामाजिक संघसंस्था, राजनीतिक दल, मानव अधिकारकर्मीहरुको सहयोगको चाहिने पनि बताएका छन्।

खाणले राष्ट्रिय मानव अधिकार आयोगको स्वयत्तता र स्वतन्त्रलाई आँच नआउन नदिन सरकार प्रतिवद्ध रहेको पनि बताएका छन्। त्यसका लागि सरकारले आवश्यक कानुन परिमार्जन गर्न संसदमा विधेयक पेश गरेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell