
काठमाडौं : काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि वालेन्द्र साह ‘बालेन’ले शुक्रवार धन्यवाद र्याली गरे। राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली काठमाडौंका विभिन्न स्थान पुगेर खुल्लामञ्चमा आइपुग्यो र सभामा परिणत भयो।
सभालाई सम्बोधन गर्दै बालेनले आफू अब स्वतन्त्र नभई साझा भएको अभिव्यक्ति दिए।
'म हिजो स्वतन्त्र थिएँ। अब सबैको भइसकेको छु,’ बालेनले भने, ‘आजदेखि तपाईहरुको साझा प्रोपर्टी भइसकेको छु।'
बालेनले काठमाडौंमा दिगो विकासका लागि सहकार्य गर्नेसमेत बताए।
‘अब काठमाडौंको दिगो विकासका लागि सहकार्य गर्नेछौं,’ नवनिर्वाचित मेयर साहले भने, 'हामी बोल्ने भन्दा धेरै काम गर्छौ।'
काठमाडौंका जनताको मायाले नै दलहरुको सिन्डिकेट ढलेको दाबी गर्दै उनले यो मायालाई खेर जान नदिने उद्घोष गरे।
'हामी सबै मिलेर काम गर्छौं। ३० वर्ष जुन सिन्डिकेट थियो। यो सबै तपाईंहरुको साथ र सहयोगले हो। यति धेरै माया पाएको छु,' साहले भने, 'यो मायालाई खेर दिन जाने छैन। विकासको नयाँ मोडल ल्याउने छौं। जो विकास भनेको दिगो विकास हुनेछ।'
त्यसपछि दर्शकदीर्घबाट हुटिङ भयो। लगत्तै बालेनले आफू भाषण दिने मान्छे नभएको तर्क गरे।
‘म त्यति धेरै भाषण दिने मान्छे चाहि हैन,’ बालेनले यति भनेपछि दर्शकदीर्घबाट पुन: हुटिङ भयो -
र्याप हान्दिनु पर्यो, र्याप हान्दिनु पर्यो।
हुटिङ आएपछि बालेन पनि उत्साहित भए। र भने - मलाई आउने काम सुनाउँछु है त।
लगत्तै फेरि हुटिङ भयो।
बालेन पनि के कम! र्याप सुरु गरिहाले।
देश एउटा सुन्दर बगैंचा होस, रंगिचंगी फूलहरु
हरेकलाई समान गलैचा होस्, सादर हरेक मुलहरु
अनुकुल, प्रतिकुलहरु चिन्ता गर्ने भावना होस
सामुहिक खुसी बिनाको के फाइदा त्यो चाहनाको
औचित्य के त्यो कामनाको एउटा हाँसो फुट्नलाई
उद्देश्य लेउ, एक हौ हरेक हातहरु जुट्नलाई
गरेर अब देखाउ, कालो अतीतलाई मेटाउ
पालो हाम्रो हो भेटाउ, कल्पना गर शान्तिको
सपना देख्नेकै पूरा हुन्छ, जागृति नै क्रान्ति हो
यति र्याप सुनाएपछि उनको धन्यवाद सभा बिसर्जन भयो।
र्यापबाट चर्चामा छाएका बालेनको उक्त र्यापलाई त्यहाँ धेरैले मन पराए। बालेनले सुनाएको र्याप ताजा हो कि पुरानो? यसबारे खोज्दा ‘नेपाल हाँसेको’ शीर्षकको र्यापको बिचको प्यारा उनले गाएको भेटियो। लेखकसमेत आफै रहेको उनले यो गीत सन् २०१५ जनवरी १५ मा आफ्नो युट्युब च्यानल बालेनमा अपलोड गरेका छन्।