PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश १ मा जिल्ला समन्वय समितिमा कहाँ कसले गर्ला कब्जा? मत परिणामले दिएको यस्तो छ दृश्य



विधुर ढकाल

प्रदेश १ मा जिल्ला समन्वय समितिमा कहाँ कसले गर्ला कब्जा? मत परिणामले दिएको यस्तो छ दृश्य

काठमाडौं : स्थानीय तहको निर्वाचन सम्पन्न भइ परिणाम आइसकेको छ। स्थानीय तहको परिणामसँगै अब ७७ जिल्लामा जिल्ला समन्वय समिति (जिसस) गठन हुनेछ।

जिसस गठनका लागि स्थानीय कार्यपालिका सदस्यहरु निर्वाचनमा उम्मेदवार हुन पाउनेछन्। यसरी उम्मेदवारी दिने सदस्यहरुबाट स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गरी निर्वाचित गर्ने छन्।

स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानीय तहमा प्रमुख रुपमा सत्तारुढ गठबन्धन र नेकपा (एमाले) नेतृत्वको गठबन्धनबाट निर्वाचन प्रतिस्पर्धा भएको थियो। सोही अनुसार जिससका लागि पनि गठबन्धन बन्ने छ।

स्थानीय तहको हालसम्म ७५२ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये ३२८ स्थानीय तहको प्रमुख/अध्यक्ष कांग्रेसले जित हात पारेको छ। त्यस्तै ३०१ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका छन्। एक स्थानीय तहको मतगणना जारी छ। त्यहाँ पनि कांग्रेसकै उम्मेदवार अगाडि छन्।

त्यस्तै, एमालेले २०५ स्थानीय तहमा प्रमुख /अध्यक्ष, २३९ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जित हात पार्दा नेकपा (माओवादी केन्द्र)ले १२१ स्थानीय तहका प्रमुख/अध्यक्ष तथा १२६ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ।

अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३१ स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा जित हात पार्दा १८ स्थानीय तहको उपप्रमुख/उपाध्यक्ष स्वतन्त्र तथा अन्य दलका उम्मेदवारले जित दर्ता गरेका छन्।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले ३० स्थानीय तहमा प्रमुख/अध्यक्ष तथा ३१ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षमा जित दर्ता गरेका छन्। नेकपा (एकीकृत समाजवादी)ले २० स्थानीय तहमा प्रमुख/अध्यक्ष तथा २४ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जित हात पारेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले १६ स्थानीय तहमा प्रमुख/अध्यक्ष तथा १२ मा उपप्रमुख/उपाध्यक्षमा जित हात पारेको छ।

यो समाचार तयार पार्दासम्म उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ।

प्रदेश १ मा को अगाडि?

प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १३७ पालिका छन्।

हालसम्मको मतपरिणाम अनुसार प्रदेश १ मा नेपाली कांग्रेसले ६८ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ। एक पालिकामा अग्रता छ। त्यस्तै, एमालेले ४७ पालिका प्रमुख/अध्यक्ष जितेको छ। भने माओवादी केन्द्रको नाममा १२ पालिका प्रमुख परेको छ।

यहाँ अन्य तथा स्वतन्त्र गरी ५ पालिका प्रमुख छन्। एकीकृत समाजवादी २ र जसपाले २ पालिका प्रमुखमा जित हात पारेको छ।

कुन जिल्लामा कसको बन्दै छ जिसस?

ताप्लेजुङमा ९ वटा स्थानीय तह छन्। जिसस गठनका लागि १८ मत रहेको ताप्लेजुङमा नेपाली कांग्रेस र एमालेसँग ६/६ मत छ। कांग्रेसले ४ प्रमुख र २ उपप्रमुखमा जित हात पारेको छ। त्यस्तै एमालेले ३/३ पालिकामा अध्यक्ष र उपाध्यक्ष जित हात पारेको छ।

ताप्लेजुङका २ पालिकामा माओवादी केन्द्रले अध्यक्षमा जित हात पार्दा ३ पालिकामा उपाध्यक्षमा जित हात पारेको छ। ताप्लेजुङका १ स्थानीय तहको उपप्रमुखमा एकीकृत समाजवादीले जित हात पारेको छ।

यहाँ सत्तारुढ गठबन्धनको १२ मत हुन्छ। जुन जिसस गठनका लागि बहुमत हो।

त्यस्तै, पाँचथरमा ८ वटा स्थानीय तह छन्। यहाँ कांग्रेसले ६ पालिकामा प्रमुख र १ पालिकामा उपप्रमुखमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले १ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुखमा जित हात पारेको छ। यो संख्या जिसस गठनका लागि बहुमत भन्दा बढी हो।

यस्तै, यहाँ एमालेको १ पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुखमा जित हात पारेको छ। यो मत ३ हो। सत्तारुढ गठबन्धनबाट कांग्रेस र माओवादीको मत जोड्दा १३ हुन्छ। यहाँ गठबन्धनले सहजै जिसस गठन गर्न सक्छ।

त्यसैगरी, इलाममा जिसस गठनका लागि एमाले र सत्तारुढ गठबन्धन दुवैसँग बहुमत पुग्दैन। १० स्थानीय तह रहेको इलाममा जिसस गठनका लागि रहेको २० मत मध्ये एमाले एक्लैसँग १० मत छ। अर्कोतिर सत्तारुढ गठबन्धनसँग पनि १० मत छ।

यहाँ एमालेले ५ स्थानीय तहमा प्रमुख र ५ मा उपप्रमुख जितेको छ। अर्कोतिर कांग्रेसले ४ मा प्रमुख र ३ मा उपप्रमुख जित हात पार्दा एकीकृत समाजवादीले १/१ स्थानीय तहमा प्रमुख र उपप्रमुख जित हात पारेको छ। १ स्थानीय तहमा जसपाले उपप्रमुखमा जित हात पारेको छ।

यहाँ एमालेले जसपाको १ वा एकीकृत समाजवादीको मत तान्यो भने जिसस बनाउन सक्छ। तर, सत्तारुढ गठबन्धन एक भए दुवैको बराबर हुँदा गोलाप्रथा हुन सक्छ।

यता, झापा जिल्लामा एमालेको एकल जिसस बन्नेछ। यहाँ १५ स्थानीय तह छन्। जसमध्ये एमालेले ७ मा प्रमुख तथा १० मा उपप्रमुखसहित १७ मत जोडेको छ। जुन जिसस गठनका लागि प्रयाप्त बहुमत हो।

झापामा कांग्रेसले ६ मा प्रमुख तथा ३ मा उपप्रमुख जित हात पारेको छ। यहाँ अन्य पार्टीको चार मत छ।

यसैगरी, मोरङ जिल्लामा १७ स्थानीय तह छन्। यहाँ जिसस गठनका लागि कम्तिमा १८ मत आवश्यक छ। यहाँ पनि एमालेले एकल रुपमा जिसस गठन गर्न सक्छ।

एमालेको यहाँका ९ पालिकामा प्रमुख र १२ मा उपप्रमुखसहित २१ मत छ। गठबन्धनसँग १३ मत छ। यहाँ कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख तथा माओवादीले १ उपप्रमुखमा जित हात पारेको छ।

उता, सुनसरी जिल्लामा कांग्रेसले एकल रुपमा जिसस बनाउन सक्ने अवस्थामा छ। यहाँका ७ पालिका प्रमुख र ६ पालिकामा उपप्रमुख कांग्रेसका छन्। कांग्रेससँग १३ मत छ। जुन बहुमत हो।

यहाँ एमालेसँग ३ पालिका प्रमुख र ५ मा उपप्रमुख छन्। एकीकृत समाजवादीसँग १ प्रमुख र माओवादी केन्द्रसँग १ उपप्रमुख छन्।

त्यस्तै, धनकुटा जिल्लाका ७ पालिका मध्ये ४ मा कांग्रेसले प्रमुख र एमालेले ३ मा प्रमुख जित हात पारेको छ। त्यस्तै यहाँका ६ उपप्रमुख एमालेका छन्। माओवादी केन्द्रका १ उपप्रमुख छन्। यहाँ एमालेले एकल जिसस बनाउन सक्छ।

त्यसैगरी, संखुवासभामा १० पालिका छन्। जिसस गठनका लागि २० मतदाता मध्ये कांग्रेससँग ९, एमालेसँग ८, एकीकृत समाजवादीसँग २ र माओवादी केन्द्रसँग १ मत छ। यहाँ गठबन्धनले सहजै जिसस गठन गर्न सक्छ। एमालेले एकीकृत समाजवादी र माओवादी केन्द्रलाई आफ्नो पक्षमा पार्दा एमालेले जिसस बनाउन सक्छ।

यता, भोजपुर जिल्लामा ९ स्थानीय तह छन्। यहाँ जिसस गठनका लागि १० मत आवश्यक छ। यहाँ कांग्रेससँग एकल रुपमा ७ मत छ। माओवादी केन्द्रसँग ४ मत छ। यहाँ कांग्रेस र माओवादी केन्द्र मिलेर जिसस बनाउन सक्छन्। यहाँ एमालेसँग ६ मत छ। अन्यको भागमा यहाँ एक मत छ।

यसैगरी, तेह्रथुममा गठबन्धनसँग जिसस गठनका लागि पर्याप्त मत छ। यहाँ कांग्रेसँग ६ र माओवादी केन्द्रसँग १ मत छ। एमालेसँग ५ मत छ।

उता, ओखलढुंगामा ८ पालिका छन्। यहाँ जिसस गठनका लागि कांग्रेसँग एकल रुपमा ८ मत छ। माओवादी केन्द्रसँग १ र जसपासँग १ मत छ। यो जिसस गठनका लागि गठबन्धनका लागि बहुमत पुग्छ। एमालेसँग यहाँ ५ मत मात्र छ। यहाँ एकीकृत समाजवादीको १ र अन्यसँग १ मत छ।

त्यस्तै, खोटाङ जिल्लामा १० पालिका छन्। यहाँ जिसस गठनका लागि कांग्रेसँग १० मत छ। यहाँ माओवादी केन्द्रसँग ४ र एकीकृत समाजवादीसँग १ मत छ। जसपासँग पनि यहाँ १ मत छ। एमालेसँग ४ मत छ। यहाँ गठबन्धनले सहज रुपमा जिसस बनाउन सक्छ।

त्यसैगरी, सोलुखुम्बुमा कांग्रेसले एकल रुपमा जिसस गठन गर्न सक्छ। यहाँ रहेका ८ पालिका मध्ये ५ पालिकामा अध्यक्ष उपाध्यक्ष जित हात पार्दै १० मत जोडेको छ। यहाँ माओवादी केन्द्रले १ प्रमुख र २ उपप्रमुखसहित ३ तथा एमालेसँग २ प्रमुख र १ उपप्रमुखसहित ३ मत छ।

यता, यहाँ ८ पालिका छन्। यहाँ गठबन्धनले सहज रुपमा जिसस गठन गर्न सक्छ। यहाँ कांग्रेससँग ६ मत छ। एक पालिकाको मतगणना जारी छ। यहाँ कांग्रेसका उम्मेदवार अगाडि छन्। माओवादीसँग ३ मत छ। कांग्रेस माओवादी मिल्दा यहाँ जिसस गठन हुन सक्छ।

यहाँ एमालेले एक पालिका प्रमुख र ३ उपप्रमुखमा जित हात पार्दा १ प्रमुख एकीकृत समाजवादीले जित हात पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell