PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्व डीआइजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ, सर्वोच्चले फैसला उल्टाएपछि मोबाइल अफ गरेर थिए फरार



सविन ढकाल

पूर्व डीआइजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ, सर्वोच्चले फैसला उल्टाएपछि मोबाइल अफ गरेर थिए फरार

काठमाडौं : श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको हो।

हत्या गरेको अभियोगमा ८ वर्ष ६ महिना जेल बसेर रिहा भएका कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बिहीवार बदर गरेको थियो। फैसलालगत्तै उनी मोबाइल अफ गरेर फरार रहेका थिए। 

काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्चले नै कैद सजाय घटाएपछि कोइराला २०७७ साउन ८ गते छुटेका थिए। तत्कालीन प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना कायम गरेको थियो।

सो फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता भएको थियो।

कोइरालालाई श्रीमती गीता ढकाल (कोइराला)को हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिरबाट काठमाडौंतर्फ बा ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ बैशाख ७ गते कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगेका थिए। २०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको थियो।

त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले कोइरालाको साढे ११ वर्ष कैद कम गरेको थियो। तर, पुनरावलोकनका माध्यमबाट फैसला बदर भएको हो। फैसला बदर भएको भोलिपल्टै कोइराला पक्राउ परेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell