PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नानीमैयाकै अर्को संस्करण बन्ने कि परिवर्तनको पर्याय? 'कोर सिटी'का बालेनप्रति किन छ अपेक्षा?



सहयोग रञ्जित

नानीमैयाकै अर्को संस्करण बन्ने कि परिवर्तनको पर्याय? 'कोर सिटी'का बालेनप्रति किन छ अपेक्षा?

काठमाडौं : २०३८ साल वैशाख २७ गते राष्ट्रिय पञ्चायतको चुनाव थियो। काठमाडौंमा त्यसबेला दुई सिटका लागि चुनाव हुन्थ्यो। सुधारिएको पञ्चायती व्यवस्थापछि भएको पहिलो चुनावमा काठमाडौंका धुरन्धर पञ्चहरु चुनाव लड्दै थिए। जसमा थिए जोगमेहर श्रेष्ठ र कमल चित्रकार पनि।

पञ्चायती व्यवस्था सुधारिएको भनिए पनि जनता त्यसबाट खुशी थिएनन्। उनीहरु पञ्चायतको विकल्प चाहन्थे। त्यसैले चुनावमा पञ्चविरुद्ध बहुदल पक्षधरहरुले उम्मेदवार उठाए। तिनै पात्र थिइन् - नानीमैया दाहाल।

दाहाल चुनावमात्र लडिनन्। काठमाडौंको ‘कोर सिटी’सहितको क्षेत्रबाट पपुलर मत ल्याउँदै विजयी भइन्। दाहालले कमल चित्रकारलाई पराजित गरेकी थिइन्। पपुलर मतमा त्यसबेलाका चर्चित नेता जोगमेहर श्रेष्ठको भन्दा उनको मत धेरै थियो।

उनको जीतपछि भित्री शहरमा विजय जुलस नै चल्यो। गाडीमा हात हल्लाउँदै दाहाल नागरिकलाई अभिवादन गर्दै अघि बढेकी थिइन्।

त्यसबेला भनियो : काठमाडौंले परिवर्तन माग्यो।

केहीको तर्क थियो : उत्पट्याङ उम्मेदवार खडा गरियो।

उनै दाहालसँग पराजित हुन पुगेका कमल चित्रकार पछि काठमाडौंका प्रधानपञ्च बने।

मल्लकालमा येँ (काठमाडौं) को सीमा पर्खालले घेरिएको थियो। हाल भोटाहिति रहेको स्थानमा पनि मल्लकालीन शहर प्रवेश गर्ने ढोका थियो। कालान्तरमामा ती प्रवेशद्वार हराए। सडक मार्गले पुरानो काठमाडौं शहरलाई घेरियो। २०४१ सालमा भने पुरानो शहर र बाहिरी शहरलाई जोड्न पुल बनाउने योजना बन्यो। जसका योजनाकार थिए कमल चित्रकार। तर, राजाले पुल बनाउन शहरी सुन्दरता हराउने भनेर निर्देशन दिएपछि कमलकै योजनामा बनेको थियो काठमाडौंको भित्री शहर र बाहिरी शहरलाई जोड्ने रत्नपार्कको ‘अन्डरग्राउन्ड सब-वे।

पढ्नुस : ३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे'

त्यही सब वे भन्दा केही मिटर पर छ कमलको बसाई। ३ वर्ष अघि मासं गल्लीस्थित कमल नै निवास पुगेको बेला उनलाई सोधेको थिएँ : नानीमैयासँग हार्नु भएको रहेछ नि?

जवाफमा उनले आफ्नो राजनीतिक यात्रा सुनाएका थिए। हाल ८५ वर्ष पुगेका उनले त्यसबेला भनेका थिए - त्यो म हारेको होइन। पञ्चायतविरुद्ध जनताको रिस थियो। जनता व्यवस्थाबाट परिवर्तन चाहन्थे। नानीमैयालाई जिताए।


कमल चित्रकार


पञ्चायती व्यवस्थामा सरिक भए पनि कमल भने नेपाली कांग्रेसका नेता थिए त्यतिबेला। ‘पञ्चेहरुले के गर्छ भनेर बुझ्न पनि पञ्चायतमा गएको हुँ,’ उनले सुनाएका थिए। कमललाई विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको साथ थियो। यद्यपि,  नानीमैयासँग हारे उनी। नानीमैयाको राजनीतिक पृष्ठभूमि पूर्वी काठमाडौंको जोरपाटीका उप प्रधानपञ्च हुनुबाहेक ठूलो राजनीतिक उपस्थिति थिएन। नानीमैयाँलाई कमल चित्रकारविरुद्ध उम्मेदवार बनाउनेमा अहिलेका कम्युनिष्ट नेताहरु नै सक्रिय बनेका थिए। जसमा केशव स्थापित पनि रहेको जानकार बताउँछन्।

+++

४१ वर्षपछि फेरि काठमाडौंले परिवर्तन देखाएको छ। त्यतिबेला काठमाडौं जसरी पञ्यायतविरुद्ध जनमानसमा आक्रोश थियो, अहिले गणतन्त्र स्थापनापछिको राजनीतिक अस्थितरताले पनि यहाँका जनता आक्रोशित देखिए। यसपटकको स्थानीय तह निर्वाचनमा ‘ब्यालेट'बाट स्थापित भएको छ त्यही असन्तुष्टि।

कांग्रेस समर्थित उम्मेदवारलाई हराउन नानीमैया खोज्ने स्थापितलाई विस्थापित गर्दै वालेन्द्र साह उर्फ ‘बालेन’ काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको ‘लिगेसी’ बोकेका  गणेशमान सिंह परिवारकी सिर्जना श्रेष्ठ (सिंह) पनि बालेनको लौरो अगाडि टिकिनन्।

यसपटक पार्टीहरुको ‘हेभी वेट क्यान्डिडेट'हरु पराजित हुँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहलाई जिताएर काठमाडौंले फेरि बिद्रोह गरेको छ दलहरुसँग। काठमाडौंले यस्तो ‘बिद्रोहो प्रवृत्ति’ बेलाबेलामा देखाइरहन्छ।

यस्तोखाले परिवर्तनको झिल्को चाहिँ धेरै समय टिकेको इतिहास छैन, बालेन अपवाद भए भने फरक कुरा हो। त्यसैले त कमल प्रकाश मल्लले भनेका थिए - काठमाडौं इज इन एब्सर्ड सिटी।

नानीमैयालाई त्यसबेला आएको मतलाई अहिले ‘नेगेटिभ भोट' को संज्ञा दिनेहरु धेरै छन्। त्यसैले नेपालमा हुने हरेक निर्वाचनमा दाहालको चर्चा हुने गर्छ, परिवर्तनको नाममा।

तर, राजतन्त्र ढलेर गणतन्त्र स्थापना हुँदासम्म परिवर्तन व्यवस्थाको मात्र भयो। जनताले खोजेको परिवर्तन कसैले दिन सकेनन्।

त्यसैले यसपटक काठमाडौं महानगरले वालेन्द्र साहको मौका दिएको छ। उनले भने जस्तै जनताले दललाई नभइ ‘बदल्न'लाई महानगर पिता बनाएको छ। त्यसैले नानीमैयाँ जित्दाखेरी झै अहिले धेरैले भन्दैछन् -  काठमाडौंले फेरि परिवर्तन खोज्यो।

बालेनले यसपटक परिवर्तन चाहने युवाको मात्र मत पाएनन्, राजनीतिक दलप्रति ‘रिजिड’रहने मत पनि बटुले। बालेनले मात्र होइन, स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमिले पनि त्यस्तैखाले मत पाए। ब्यालेटमा ‘परिवर्तनको मत’ सँगै ‘नेगेटिभ भोट’पनि पाए दुवैले। फरक यति हो – जित बालेनको भयो। तर, विजेता घोषित भएको दिन सभागृहमा दुवै उम्मेदवार सँगै विजय यात्रामा निस्किँदा त्यसले अर्कै सन्देश दिँदै थियो - जित ब्यालेटमा खसेको मतको भयो।

यस पटक राजनीतिक दलहरुले काठमाडौं महानगरपालिका प्रमुखका लागि उम्मेदवार छान्न निकै माथापच्ची गरे। समय पनि निक्कै लगाए। त्यति धेरै समय लगाउँदा पनि उनीहरुको छनोट गलत साबित भयो। केशव स्थापितलाई उनकै बोली र व्यवहारले डुबायो। सिर्जना सिंह बोलिनन् तर महानगर हाँक्न सक्ने गरी प्रस्तुत पनि भइनन्। त्यसमाथि स्थापितको बोलीले युवा र मतदातालाई राजनीतिक दलमाथि प्रतिशोध साँध्ने मौका दियो। केशवकै त्यस्तो बोलीले स्थापित दलहरुप्रति विकर्षण यसरी पैद गर्‍यो कि त्यसले सिर्जनाले पाउने मत समेत गुमाइन्।

बालेन र कोर सिटी

यसपटकको निर्वाचनमा काठमाडौं महानगरपालिकाको कोर सिटीबारे निकै चर्चा भयो। खासगरि मल्लकालीन बस्तीभन्दा बाहिरी क्षेत्रमा बालेनले राम्रो मत ल्याइरहँदा कांग्रेस र एमालेका उम्मेदवारहरुले ‘कोर-कोर’भनिरहे। त्यसैले मिडिया र सामाजिक संजालमा काठमाडौंका रैथाने नागरिकको मतलाई लिएर खिसिट्युरी पनि चलिरह्यो। ‘कोर सिटी’को मतले परिवर्तन नै नचाहेको गलत भाष्य स्थापित गर्ने प्रयास भइरह्यो।

कोर क्षेत्रले परिवर्तन नचाहेको हो त?

उत्तर किल्यर छ : होइन भन्ने कोर क्षेत्रबाट बालेन र सुमनले पाएको मतले प्रमाणित हुन्छ। र, यो बालेनलाई पनि थाहा छ। किनभने उनी पनि त्यही भित्री शहरमै हुर्किएका हुन्। त्यहीँका संस्कृति र भाषा बुझ्दै आएका हुन्।

कुरा यति हो- कोर क्षेत्रको आफ्नै एजेन्डा छन्। आकांक्षा छन्। जसलाई बालेनले पनि आफ्नो प्रतिवद्धता पत्रमा समेट्ने प्रयास गरेका छन्।

बालेनले उम्मेदवारी घोषणाअघि जसरी बाहिरी क्षेत्रमा प्रचार गरेका थिए। त्यही रफ्तारमा कोर क्षेत्रमा पनि प्रचारमा जुटेका थिए। यस्तै, केपी शर्मा ओली सरकारले निर्माण गरेको नयाँ धरहरालाई ‘सेतो टावर’ को संज्ञा दिएर होस् या सेतो मछिन्द्रनाथ रथ यात्रामा रथ तानेर, उनी भित्री बस्तीका युवासँग घुलमिलमा व्यस्त थिए। यस्तै  नेवार कुनै जात वा समुदायमात्र नभई, एक एतिहासिक राष्ट्र हो भन्ने धारणालाई पनि उनले खुलेर अभिव्यक्त गरे। जसकारण पनि उनी कोर क्षेत्रभन्दा बाहिरका कहिलै भएनन्। बालेनले कोर क्षेत्र र त्यससँग जोडिएका वडाबाट करिब १५ हजार मत ल्याए। अझ कोर क्षेत्रबाट बाहिर रहेको नेवार क्षेत्रबाट पनि उनले राम्रै मत पाएका छन्। जसले पनि उनको जीतमा मतान्तर बढायो।

बालेनलाई जितपछि बाहिरी क्षेत्रमा काम गरेर देखाउने जति चुनौती छ, त्यति नै चुनौती उनलाई कोर क्षेत्रमा पनि नहुने होइन। बाहिर जति विकासको सपना मतदाताले देखेका छन्, भित्री शहरमा विकाससँगै सम्पदा र संस्कृतिको संरक्षण/व्यवस्थापनमा उनले उत्तिकै प्रयास गर्नैपर्नेछ।

बालेनले नेपाल भाषा, रञ्जना लिपी र नेपाल संवतको प्रवर्द्धन गर्ने बताएका छन्। स्थानीय पाठ्यक्रममा यी सबैको परिचय दिने व्यवस्था गर्ने उनको प्रतिवद्धतापत्रमा उल्लेख छ। यति लेखिँदै गर्दा बालेनलाई बागदरबार छिर्दै गर्दा निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले सुरु गरेको नेपाल भाषामा स्थानीय भाषा पाठ्यक्रमलाई निरन्तर संचालन गर्न दबाव पक्कै बढ्नेछ। यहाँका रैथानेले अहिले बालेनबाट गरेको पहिलो अपेक्षा भनेकै स्थानीय पाठ्यक्रमको निरन्तरता नै हो।

भित्री शहरमा हुर्केका बालेनलले 'ग्रेटर नेपा: भ्याली कस्मोपोलिटन'को विचार अघि सारेका छन्। काठमाडौं महानगरपालिकाका वरपरका सबै नगरपालिकालाई एउटै चिनारी नेपा: उपत्यकाका रुपमा प्रवर्द्धन गर्ने उनको योजना छ। नेपाल मण्डल काठमाडौं उपत्यकामा मात्र सीमित थिएन। त्यसैलै बालेनले काठमाडौंका नगरपालिकासँग ललितपुरसँगै भक्तपुर र काभ्रेका नगरपालिकाहरुसँग पनि सहकार्य गरेर नेपालमण्डलको चिनारी दिन सक्नेछन्।

बालेनले महानगरभित्रका जात्रापर्व, गुठी, बाजा खल:, बहा:बहीको प्रवर्द्धन गर्ने वाचा गरेका छन्। भित्री शहरको अर्को माग भनेको : गुठी संस्थानको खारेजी हो। नेकपा एमालेले ल्याइको गुठी विधेयकको विरोधमा उत्रिएको नेवार समुदायले अहिलेसम्म फेरि गुठीमाथि हुनसक्ने आक्रमण बिर्सिएको छैन। त्यसैले बालेनलाई गुठीलाई मिलाएर अघि लड्न पनि चुनौती छ। यस्तै, सम्पदा संरक्षणका लागि महानगरले गर्दै आएको लगानीका बारेमा पनि उनी सचेत भएको देखिन्छ। सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणसँगै त्यस सँगैका घरहरु मौलिक शैलीमा बनाउन उनले प्रोत्साहन गर्ने बताएका छन्। बालेनले अधिकार सम्पन्न सम्पदा संरक्षण आयोग गठन गर्ने योजना अघि सारिसकेका छन्।

विद्यासुन्दर शाक्यको कार्यकालमा महानगरले नै नेवा: छेँ बनाउने योजना अघि सारेका थिए। अहिले बालेनले पनि भने नेवा: शैलीको घरलाई पाठ्यक्रममा ल्याउने बताएका छन्। नेवा: छेँको प्रवर्द्धनका लागि इन्जिनियरिङ र आर्किटेक्चर पाठ्यक्रमहरुमा त्यस शैलीको विज्ञानलाई जोड दिइने बताएका छन्। यी त भित्री शहर लक्षित उनका योजना हुन्। कार्यकालमा थप योजना बन्लान् पनि। समग्र काठमाडौं महानगरलाई लिएर उनको योजना आगामी दिनमा खुल्दै जानेछन्।

निर्वाचित हुने बित्तिकै काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने ‘महत्वकांक्षी’ घोषणा गरेका छन् उनले। आउने पाँच वर्षसम्म मतदातले उनको हरेक बोली पछ्याउनेछन् नै। 'विश्वकै उत्कृष्ट शहर' आफैँमा भारी शब्द हो - जसमा बालेन आफैँ नथिचिउन्। अर्थात, बालेन, नानीमैया जस्तै परिवर्तनको झिल्कोमात्र नबनुन्।

शुभकामना!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell