.jpg)
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गरेका छन्।
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै उनले कार्यक्रममा आर्थिक संकटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको बताएका हुन्। उनले नीति तथा कार्यक्रालाई ‘खोक्रो र सारहीन’ भएको समेत बताए।
उनले कार्यक्रममा औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको आक्षेपसमेत लगाए।
सरकारले अर्थतन्त्रमा ध्यान दिएको छैन भनेर भ्रम छरेको, मूल्यवृद्धि अकाशिएको, आपूर्ति शुङ्खला समस्यामा परेको, सङ्कटोपन्न खाद्य सङ्कटका बारेमा चासो नदिएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद पौडेलले विदेशी विनिमय जोखिममा पुगेको पनि बताए।
सार्वजनिक विद्यालयको पूर्वाधारको विकास, प्राविधिक शिक्षाको कार्यक्रम, कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनललगायतका कार्यक्रम छाडिएको टिप्पणी गर्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको उल्लेख गरे।
उनले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको समेत बताएका छन्।