PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एक वर्षमा नेपाल कृषिमा आत्मनिर्भर हुन सक्छ : कृषि मन्त्री यादव



पहिलोपोस्ट

एक वर्षमा नेपाल कृषिमा आत्मनिर्भर हुन सक्छ : कृषि मन्त्री यादव

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्।

‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा सम्बोधन गर्दै यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-२०८० को नीति तथा कार्यक्रममा नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने समेत बताए।

‘यो बजेटले नेपाली जनताको कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान हुनेछ। हामी अबको एक वर्षभित्रमा कमसेकम कृषिमा आत्मनिर्भर हुनसक्छौँ,’ उनले भने।

यादवले कृषि नेपालको मेरुदण्ड भएको बताउँदै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौति भएको बताए।

‘यसपालिको बजेट जुन नीति कार्यक्रममा आएको छ, त्यो विगतको भन्दा धेरै परिवर्तनको रुपमा कृषि क्षेत्रमा आएको छ। तर त्यसलाई हामीले कसरी कार्यान्वयन गर्ने भन्ने मूल समस्या हो। बजेटमा कति निर्धारण हुन्छ त्यसकै आधारमा हामीले कृषि क्षेत्रको विकासलाई कार्यक्रममा अघि बढाउने हो,’ उनले भने।

उनले देशमा जनशक्तिको अभाव भएको भन्दै बजेटको कार्यान्वयनको सवाल नै प्रमुख चुनौती भएको बताए। उनले समस्या समाधानका लागि कृषि नीति आवश्यक रहेको बताए।

‘संघीयता अनुसारको कृषि नीति बन्नुपर्छ। प्रदेश र स्थानीय तहमा छलफल भएर अहिले कृषि नीति अन्तिम चरणमा पुगेको छ। ऐनहरु पास गर्ने कुरामा मन्त्रालय लागि परेको छ। अब चाँडै नै कृषि ऐन पास हुन्छ,’ उनले भने।

यादवले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन नहुनाले पनि कृषिमा थप समस्या सिर्जना भइरहेको बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरुमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स-साना गोदामहरु बनाउनका लागि बजेट छुट्याउने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell