PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

क्रुज पार्टीमा ‘ड्रग्स’ मुद्दामा आर्यन खानलाई सफाइ, ‘समीर वानखेडेको टोलीले फसाउन खोज्यो’



पहिलोपोस्ट

क्रुज पार्टीमा ‘ड्रग्स’ मुद्दामा आर्यन खानलाई सफाइ, ‘समीर वानखेडेको टोलीले फसाउन खोज्यो’
Photo : Getty Images

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई लागू औषध प्रयोगको मुद्दामा ‘क्लिन चिट’ मिलेको छ। नारकोटिक्ट कन्ट्रोल ब्यूरो (एनसिबि)ले आर्यनलाई सफाइ दिएको हो।

गत वर्ष एक क्रुज पार्टीमा ड्रग्स लिएको र कारोवारमा संलग्न भएको आरोपमा आर्यन खान सहित केही व्यक्तिलाई एनसिबिले पक्राउ गरेको थियो।

‘आर्यन खानसँग ड्रग्स भेटिएको छैन,’ शुक्रवार आर्यनलाई सफाइ दिँदै एनसिबिले जनाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

आर्यनलाई पक्राउ गरेपछि सामाजिक संजालमा उक्त विषय भाइरल भएको थियो। भारतीय संचारमाध्यमहरुले आर्यनलाई दोषी नै करार गरेर समाचार प्रशारण गरेका थिए। जसको पछि आलोचना भएको थियो। आर्यनसँग ड्रग्स नै नभेटिएको भन्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले भने आर्यन निर्दोष भएको मत राखेका थिए।

उक्त मुद्दाका क्रममा आर्यन २६ दिन जेलमा बसेर जमानतमा रिहा भएका थिए। अहिले सामाजिक संजालमा एनसिबिमाथि प्रश्न उठाइएको छ। एनसिबिले किन आर्यनविरुद्ध झुटो मुद्दा दर्ता गर्‍यो भनेर भारतीय सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न गरिरहेका छन्। उनीहरुले आर्यनलाई ‘किल्न चिट’ दिएर मात्र नपुग्ने, माफी नै माग्नुपर्ने बताएका छन्। उनीहरुले सुशान्त सिंह राजपूतको मुद्दामा रिया चक्रवर्तीलाई मुछ्ने काम भएको सन्दर्भ पनि उल्लेख गरिरहेका छन्।

गत वर्ष अक्टोबर ३ मा आर्यन खानलाई पक्राउ गरिएको थियो। त्यसबेला एनसिबि टोलीको नेतृत्व समीर वानखेडेले गरेका थिए। यो मुद्दालाई लिएर वानखेडेको भूमिकामा पहिलादेखि नै प्रश्न उठ्दै आएको थियो। अहिले एनसिबिले वानखेडेको टोलीमाथि शंका उत्पन्न भएको निष्कर्ष निकालेको छ।

वानखेडेको टोलीले आर्यन खानलाई ‘कुनै पनि तरिकाले फसाउने’ योजना बनाएको एनसिबिको विशेष जाँच दल (एसआइटी) को रिपोर्टमा उल्लेख भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

आर्यनको साथी अरबाज मर्चेन्टसँग केही ग्राम चरेसमात्र फेला परेको अवस्थामा आर्यनले त्यसबारेमा आफूलाई केही थाहा नभएको भन्दा भन्दै जाँच अधिकारीहरुले मोबाइल नियन्त्रणमा नलिइ आर्यनको ह्वाट्सएप च्याट हेरेको रिपोर्टमा उल्लेख छ। त्यसैले वानखेडेको टोलीले जसरी भए पनि आर्यनलाई फसाउन चाहेको देखिएको एसआइटीको रिपोर्टमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell