PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मतदाताले पनि रोजेनन् महिला उम्मेदवार, घट्यो गण्डकीका पालिकामा महिलाको नेतृत्व



रिना थापा

मतदाताले पनि रोजेनन् महिला उम्मेदवार, घट्यो गण्डकीका पालिकामा महिलाको नेतृत्व

पोखरा : म्याग्दीको रघुगंगा गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवार थिइन् मीना बिक। गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये मीना एक मात्र दलित महिला उम्मेदवार थिइन्। तर, उनी पराजित भइन्। नेपाली कांग्रेसको पकड रहेको पालिकामा उनलाई हराउँदै कांग्रेसका भवबहादुर भण्डारी दोस्रो कार्यकालका लागि विजयी भए। भवबहादुरले ४ हजार ३८ मत ल्याउँदा मीनाले ९ सय ९५ मतमात्रै ल्याइन्।

यसअघिको स्थानीय तह निर्वाचनबाट गण्डकीका ६ पालिकामा नेतृत्व हाँकेका थिए महिला अध्यक्षले। स्याङ्जाको पुतलीबजार नगरपालिकामा सीमाकुमारी क्षेत्री र नवलपुरको कावासोती नगरपालिकामा चन्द्रकुमारी पुन प्रमुख थिए। त्यस्तै, नवलपुरकै हुप्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डे, दूधपोखरी गाउँपालिकामा छुपीमाया गुरुङ, धवलागिरी गाउँपालिकामा थमसरा पुन र म्याग्दे गाउँपालिकामा माया राना थिए।

तर, अहिलेको स्थानीय तह निर्वाचनबाट भने महिला अध्यक्षको संख्या बढ्नुको साटो घटेको छ । यसअघि दुई नगरपालिकामा महिलाको नेतृत्व रहेकोमा अहिले भने गाउँपालिकामा मात्र सीमित छ, त्यो पनि जम्मा तीन। नवलपुरको हुप्सेकोटमा दोहोरिएको अनुहार लक्ष्मी पाण्डे, बागलुङको बडिगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी र पर्वतको मोदी गाउँपालिकामा हिरादेवी शर्माले जित निकालेकी छिन्। उसो त, निर्वाचन आयोगले दिएको जानकारी अनुसार गण्डकीका पालिकामा महिलाको उम्मेदवारको संख्या नै न्यून थियो। ठूलादेखि साना दल गरेर गण्डकीमा जम्मा ४१ जना महिलाको अध्यक्ष पदमा उम्मेदवारी थियो। त्यो पनि बढी साना दलका उम्मेदवार थिए, जो पराजित हुने पक्कापक्की थियो।

ठूला भनिएका एमाले र कांग्रेसले महिलालाई प्रमुखमा उम्मेदवारी दिन अनकनाए- एकदुई पालिकाबाहेक। उम्मेदवार रहेको पालिकामा समेत महिला अध्यक्षले हार व्यहोर्नुपर्‍यो। कुनै पालिकामा उम्मेदवारी दिन पार्टीले महिलालाई पत्याएनन्, कतै मतदाताले। उपप्रमुखमा विजयी हुँदा सोही दलका उम्मेदवार रहेका महिला अध्यक्ष प्रमुखमा विजयी भएनन्। मतदाताले महिला उम्मेदवारलाई नपत्याएको धारणा राख्छन् राजनीतिक विश्लेषकहरु।

केही पालिका अध्यक्षमा महिला उम्मेदवार उठाएका दलले पनि 'राजनीति' गरे। पकड कम रहेको र जित निकाल्न असम्भव रहेको पालिकामा महिला उम्मेदवारलाई उठाए। रघुगंगा गाउँपालिकामा माओवादी केन्द्रबाट उठेकी महिला दलित उम्मेदवार त्यसको उदाहरण हुन्। रघुगंगा गाउँपालिका कांग्रेसको राम्रै पकड रहेको पालिकाको हो। अहिले निर्वाचित भएका पालिका अध्यक्ष कांग्रेसबाट दोहोरिएका अनुहार हुन्। माओवादी केन्द्रबाट अध्यक्षमा मीनाको उम्मेदवारी पर्नु अगाडि रिम कटुवालको चर्चा थियो। सामाजिक सञ्जालदेखि जताततै उनकै चर्चा पछि उम्मेदवारीको दिन एक्कासी मीनाले टिकट पाएको म्याग्दीका एक नेता बताउँछन्।

‘रिम कटुवालको चर्चा भइकिन मनोनयनको दिन मीनालाई अघि सारेका हुन्। मनोनयनको अघिल्लो दिन जिल्लामा गठबन्धन बैठक बसे। वार्ता मिलेन। हार्ने जस्तो भयो। त्यसपछि मात्र मीनालाई टिकट दिएका हुन्,’ ती नेताले भने।

रघुगंगामा पार्टीले आफ्नै रणनीतिले महिलालाई टिकट दिए पनि यता गण्डकी केही पालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका महिलालाई मतदाताले पत्याएनन्। टेष्टेड हुन् तनहुँको म्याग्दे गाउँपालिका अध्यक्ष उम्मेदवार रहेकी माया पुन। जो अहिलेको निर्वाचनमा पाँच सय बढी मतान्तरले एमालेका उम्मेदवारसँग पराजित भइन्। पालिकाबाट कांग्रेसकी उम्मेदवार रहेकी माया पराजित हुँदा पालिका उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे भने विजयी भए। एकै दलबाट प्रमुख र उपप्रमुखमा उठेका कृष्णा र मायाले पाएको मतमा ८ सय ७ को अन्तर छ।

म्याग्दीको धौलागिरी गाउँपालिकामा पनि यस्तै देखिएको छ। यद्यपि, एमालेबाट अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार रहेका दुवै पराजित बने। एकै दलबाट उठेका उम्मेदवार पनि मतान्तर देखिन्छ। अध्यक्षमा उठेकी थमसरा पुनले २५ सय ४८ मत पाउँदा उपाध्यक्षमा एमालेकै उम्मेदवार प्रगति कार्कीले २६ सय १८ मत पाए। यस पालिकामा गठबन्धन थियो। अध्यक्षमा कांग्रेस जित्दा उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ। यस्तै, पुतलीबजार नगरपालिकामा पनि एमालेबाट प्रमुखमा उम्मेदवार रहेकी सीमाले १० हजार ९० मत पाउँदा एकै दलबाट उठेका उपप्रमुखका उम्मेदवार महेश पुरीले १० हजार ७ सय ६१ मत पाए। पालिकामा दुवै पदमा कांग्रेसले जित निकालेको छ।

गठबन्धनका कारण प्रमुख वा उपप्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने बाध्यता भएन, दलका लागि यस निर्वाचनमा। त्यसैले पनि दलको रोजाइमा महिला उम्मेदवार परेनन्। कहीँ कतै दलले महिला उम्मेदवारलाई उठाए - त्यस्तोमा मात्र जहाँ आफ्नो पराजय निश्चित छ। हार निश्चित बनेको क्षेत्रमा महिला उम्मेदवार उठाउने रणनीति दलहरुको रहेको राजनीतिक विश्लेषक इन्द्र अधिकारी बताउँछिन्।

‘महिलाहरुलाई दिएको छ भने पनि कतिपय ठाउँमा रणनीतिक हिसाबले हार्ने जस्तो क्षेत्रमा महिलाहरुलाई दिएको देखिन्छ। के लाग्छ भने हाम्रो पार्टीले चुनाव जित्ला भन्ने पक्का छैन, हार्छ भन्ने ठाउँमा उम्मेदवारी देखाउनका लागि दिइएको समेत देखिन्छ सरसर्ती हेर्दाखेरी,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell