
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकताको समस्या समाधानमा सरकार अग्रसार हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका हुन्।
यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बहानामा उनीहरुको समस्याको नजरअन्दाज गर्न नहुने बताए। संघीय निजामती विधेयक तत्काल संघीय संसद्मा पारित गरेर कार्यान्वयनमा ल्याउनसमेत उनले आग्रह गरेका छन्।
बहुभाषिक नीति लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गरेका छन्। जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न, सिमान्तकृत र बहिस्करणमा पारिएका समुदायलाई विशेष ध्यान दिन, पछाडि पारिएको वर्ग तथा समूहलाई प्राथमिकता राख्न, ४० प्रतिशतभन्दा बढी रहेका युवालाई केन्द्रमा राख्न, आर्थिक दृष्टिकोणले पछाडि परेका तराई-मधेशका जिल्लालाई यथेष्ट बजेटको प्रबन्ध गर्न पनि उनले आग्रह गरेका छन्।