PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

वाग्मती सरकारको आलोचनामै सीमित भयो कैलाशप्रसाद ढुंगेलको सम्बोधन



पहिलोपोस्ट

वाग्मती सरकारको आलोचनामै सीमित भयो कैलाशप्रसाद ढुंगेलको सम्बोधन

हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताएका छन्। शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उनले सरकारले विगतको भन्दा पनि कमजोर योजनाहरु ल्याएको बताए।

उनले सरकारले जनताको योजना र पीडाहरुलाई सम्बोधन गर्न नसकेको बताए। वर्तमान सरकारले अघिल्ला सरकारले ल्याएको योजनाहरु कटौती गर्ने काम मात्र गरेको उनको आरोप थियो।

निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको उनको दाबी थियो। उनले प्रदेश सरकारले जनपक्षीय कामको लागि कुनै पनि योजना ल्याउन नसकेको बताए। स्थानीय निर्वाचनमा गठबन्धन सरकारले निर्वाचन जित्नैको लागि सत्ताको दुरुपयोग गरेको उनले बताए।

ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताको समस्याको लागि कुनै ध्यान नगएको टिप्पणी गरे। वाग्मती प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ भन्दै उनले भने, ‘यि सबैको भरणपोषण गर्दा खेरी अनि बिउ कहाँबाट ल्याउनु, मल कहाँ बाट ल्याउनु?’

उनले किसानहरु मल नपाएर समस्यामा परेका बेलामा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको समेत बताए। एमालेलाई हराउनका लागि नै वर्तमान सरकारले निर्वाचनको समयमा ऐन विपरित २ हजार ३०० योजनाहरु बाँड्ने काम गरेको उनले आरोप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell