PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओलीको ३ घण्टालाई प्रचण्डको १ घण्टे काउन्टर: बालेन र हर्क राईप्रति नरम हुँदा गोपी हमालप्रति किन आक्रोशित?



प्रकाश भण्डारी

ओलीको ३ घण्टालाई प्रचण्डको १ घण्टे काउन्टर: बालेन र हर्क राईप्रति नरम हुँदा गोपी हमालप्रति किन आक्रोशित?

काठमाडौं: प्रतिनिधि सभाको ९औं र १०औं अधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकै बीच सकियो। तर, ११औं अधिवेशनमा एमालेको रणनीति फेरियो। संसदमा लामो समयको अवरोध मात्रै हटेन एमालेका सांसद पनि संसदको काम कारबाहीमा सहभागी भए। सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएपछि हिजो - आज सांसदहरुले आफ्नो धारणा राखे।

यही क्रममा बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा करिब ३ घण्टा लामो सम्बोधन गरे। ओलीमात्र होइन रोष्टममा पुगेर सम्बोधन गर्ने अधिकांश सांसद एक अर्कालाई घोचपेच गर्न केन्द्रित भए। ओलीको सम्बोधनलाई लिएर सत्तारुढ दलका नेता र सरकारका मन्त्री आक्रामक हुँदा एमाले सांसद रक्षात्मक रुपमा उत्रिए। 

शुक्रबारको बैठकमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ओलीको भाषणलाई स्तरहीन भन्दै आलोचना गरेपछि एमालेले पुरानै शैलीमा संसदमा अवरोध गरेको थियो। एमालेको अवरोधपछि सभामुख सापकोटाले मन्त्री बडूका असंसदीय शब्दलाई रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। शनिबारको बैठकमा पनि नीति तथा कार्यक्रमबारे छलफलभन्दा सांसदहरुको घोचपेचमै केन्द्रित रह्यो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब एक घण्टा संसदमा वक्तव्य दिए। दुई दिनअघि बोलेका ओलीलाई प्रचण्डले जवाफ मात्रै फर्काएनन्, उल्टै चेतावनी दिन भ्याए। 

ओली-प्रचण्ड ‘ब्याटल’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा हुँदा एकै जहाजका दुई पाइलट भएको बताउने प्रचण्ड-ओली हाल भने एक अर्काको ‘दुस्मन’को भूमिकामा छन्। एक अर्काप्रति कडा टिप्पणी मात्रै होइन भित्तामै पुर्‍याउनेसम्मका अभिव्यक्ति दिन पछि पर्दैनन् प्रचण्ड-ओली। त्यसकै निरन्तरता स्वरुप संसदमा आरोप प्रत्यारोपको शृङ्खला चल्यो।  ओलीले कसैको वैशाखीमा टेकेर प्रधानमन्त्री नहुने बताउँदा त्यसको जवाफ प्रचण्डले दुई पटक आफूले नै प्रधानमन्त्री बनाएको भन्दै काउन्टर दिए। ओलीले भरतपुर महानगरमा माओवादीले धाकधम्की दिएर मेयरमा रेनु दाहाललाई जिताएको आरोप लगाएका थिए।

जवाफमा प्रचण्डले आफूले सत्ता गठबन्धनका उम्मेदवार नजितेमा देश संकटमा पर्ने अभिव्यक्ति दिएको भन्दै कसैलाई नधम्काएको प्रष्टाए। ‘देश दुर्घटनामा जानका लागि बचाउन गठबन्धन बनेको हो। अहिले पनि गठबन्धन टुट्यो भने दुर्घटनामा जाने खतरा हुन्छ,’भरतपुरमा आयोजित चुनावी सभामा आफूले बोलेको अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै प्रचण्डले भने।

प्रचण्डले आफू मात्रै गठबन्धनमा नभएर ओली पनि गठबन्धनमा भएको दाबी गरे। उनले ओलीको नेतृत्वमा ९ दलीय गठबन्धन भएको आरोप लगाए। ‘अहिले दुईवटा गठबन्धन छ। कहिलेकाहीँ हामी दुई दलीय र उहाँहरु ९ दलीय गठबन्धन भनेर आउने गरेकै छ। यी गठबन्धन त बने। यो गठबन्धन कमजोर बन्यो भने फेरि पनि देश दुर्घटनामा जान्छ। जनतालाई सतर्क बनाउने कुरा कसरी धम्की हुन्छ,’प्रचण्डको भनाइ छ।

प्रचण्डले ओलीलाई फेरि आफ्ना सहारा बिना प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्। पहिलोपटक आफूले र दोस्रो पटक माओवादी केन्द्रको मत पनि एमालेमा मिलाएर ओलीलाई प्रधानमन्त्री बनाइएको प्रचण्डको मत छ। 

‘मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगकै भरमा प्रधानमन्त्री हुनु भएको हो। पहिलोपटक पनि माओवादीको वैशाखीमा प्रधानमन्त्री बन्नु भएको हो। फेरि पनि मेरै सहयोगमा प्रधानमन्त्री बन्नुभएको हो। अब फेरि प्रधानमन्त्री बनेर देखाउनुस् त,’ ओलीलाई चुनौती दिँदै प्रचण्डले भने। 

एमाले किन हार्‍यो? भन्नेमै ओली-प्रचण्डबीच विवाद

ओलीले एमाले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले गरेको धाँधलीका कारण हारेको भन्दै आरोप लगाउने गरेका छन्। तर, प्रचण्डले उक्त आरोपको खण्डन गरे। पार्टीको बैठकमा अन्तर्घात भएकाले हारेको भनेको र संसदमा भने सरकारका कारण हारेको भनेर ओलीले दोहोरो बोली बोलेको प्रचण्डले आरोप लगाए। 

‘लज्जास्पद अन्तर्घातका कारण हार भयो भन्ने कुरा मुख्य हो कि सदनमा भनेको कुरा मुख्य हो? त्यो चाहिँ प्रस्ट भएको देखिएन,' ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने,‘नतिजा आफ्नो पक्षमा नदेखिने स्थितिमा सरकारमाथि धारे हात लगाउने काम ठिक भएन।’ 

'आँखामा आँखा जुधाएर छलफल गर्न तयार छुु'

प्रचण्डले चुनावका बेलामा ओलीले माओवादीलाई वैशाख ३० गतेपछि टर्च बालेर खोज्नुपर्ने भन्दै दिएको अभिव्यक्तिको पनि विरोध गरे। उनले एउटा शक्तिको हैसियतमा संसदमै माओवादी ओलीसँग बहस गर्न तयार भएको भन्दै ओलीलाई आफ्नो शक्ति कम नठान्न चेतावनी दिए। 

भने, ‘३० गतेपछि माओवादी केन्द्र भेटिदैन गुगलमा मात्रै भेटिन्छ भन्नुभएको थियो। ६० प्रतिशत ल्याउने रे। गुगल होइन एउटा शक्तिको साथ माओवादी केन्द्र तपाईंको आँखामा आँखा जुधाएर बहस गर्न तयार छ।’

नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका ओलीले आफ्नो भाषणका क्रममा शेरबहादुर देउवा सकरारले ल्याएको कार्यक्रम आफ्नो सरकारले ल्याएकै नीतिको ‘कपी’ भएको बताएका थिए। जसलाई माओवादी अध्यक्ष प्रचण्डले ओलीको दोधारे चरित्र भएको भन्दै आलोचना गरे। ‘उहाँको अभिव्यक्तिमा यति धेरै विरोधाभास देखियो। एकातिर यो नीति तथा कार्यक्रम लाजमर्दो  भने। नीति तथा कार्यक्रम एमालेकै फोटोकपी भन्नुभयो। तपाईंकै हो भने धन्यवाद दिनुपर्‍यो,’प्रचण्डले भने।

‘पार्टी सच्चिन पर्‍यो तर स्वतन्त्र दलका लागि चुनौती होइन’

प्रचण्डले स्वतन्त्र उम्मेदवार मेयरमा निर्वाचित भएकोमा सबैलाई स्वतन्त्र भन्न नमिल्ने बताए। उनले धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिकामा मात्रै स्वतन्त्र मेयर निर्वाचित भएको बताए। बालेन्द्र साह काठमाडौं महानगरमा र धरान उपमहानगरमा हर्क राई भिन्न विचार र शैलीका कारण निर्वाचित भएको भए पनि धनगढीमा गोपी हमाल स्वतन्त्र नभएको उनको दाबी थियो। 

‘अहिले स्वतन्त्र उम्मेदवार विजयी भए पार्टीका उम्मेदवार भए भन्ने छ। स्वतन्त्र भनेर स्वतन्त्र मान्छे सबै ठाउँमा भएको छैन। काठमाडौं र धरानमा दुई जना स्वतन्त्र हुन बाँकी स्वतन्त्र होइन। जनकपुरका देख्नुयभो नेपाली कांग्रेसका नेताहरु नै विजय जुलुसमा हिँड्नुभयो। धनगढीमा पनि पार्टीकै मान्छै छन्,’उनले भने।

स्वतन्त्र उम्मेदवार विभिन्न कालखण्डमा देखा परेर सफल भएको उदाहरण भए पनि पछि आफ्नो विचारमा अडिन नसक्दा विभिन्न शक्तिहरुको घेराबन्दीमा परेको प्रचण्डको बुझाइ छ। 

भने,‘यस्ता पात्रहरु कुनै खास खास कालखण्डमा देखा पर्ने गर्छन्। जनताका अघि गरेका कमिटमेन्टहरुमा जनताका अघि अडिरहन सक्ने हुन्छन् हुँदैनन्। विभिन्न खालका घेराबन्दीमा पार्ने हुन्छन्।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell