
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रमा राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या गर्दै प्रहार गर्ने काम भइरहेको आरोप लगाएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै ओलीले उक्त आरोप लगाएका हुन्।
'जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या /अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ,' ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, 'यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्यायो।'
सरकार परिवर्तनपछि मुलुकमा विकासका कामहरुमा अल्पविराम लागेको र राष्ट्रिय बहसको विषय बन्न नसकेको बताएका छन्। ओलीले भनेका छन्, 'फलस्वरुप आज मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेका छन् र केहीवर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको छ।'
ओलीले एमाले राष्ट्रिय आकांक्षा बोकेको पुरा गर्ने संकल्प बोकेको पार्टी भएको दाबी गर्दै प्रमाणित गर्नसमेत चाहेको उल्लेख गरेका छन्। 'नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्प बोकेको पार्टी हो। हामी राष्ट्रको यस आकाङ्क्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहन्छौं,' जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासहरुले अवरोध पुऱ्याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाईमा पुयाउने नेकपा (एमाले)को यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइहरुको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छ।'
एमालेको सरकारका यासले राष्ट्रिय हितको संवर्द्धन, राष्ट्रिय स्वाभिमानको रक्षा र प्रवर्द्धन भएको दाबी गर्दै ओलीले राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरेकासमेत उलेलेख गरेका छन्।