PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सम्पर्कविहीन भएको विमान खोज्न सेनाको हेलिकोप्टर परिचालन



पहिलोपोस्ट

सम्पर्कविहीन भएको विमान खोज्न सेनाको हेलिकोप्टर परिचालन

काठमाडौं : पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन तारा एयरको विमानको खोजी कार्य जारी रहेको छ। विमानको खोजी कार्यका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर उडेको बताइएको छ।

पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका थिए।

विमान उडेको १५ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन्।

सूचना पाएलगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली विमानको अवस्था खोजी गरिरहेको प्राधिकरणले जनाएको छ। विमानमा तीन भारतीय सहित ६ जना विदेशी रहेका छन्। १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रुदलका सदस्य रहेका छन्।

नाइन एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए। विमान घोडेपानी पुगेपछि सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको थियो। तर, हेलिकप्टर जान असहज भएपछि फर्किएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell