PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्यो



पहिलोपोस्ट

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्यो

काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएपछि खोजी गर्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ। मुस्ताङको लेते भन्ने ठाउँमा विमान दुर्घटना भएको स्थानीयले जानकारी दिएपछि सेनाको टोली काठमाडौंबाट उडेको हो। सेनाको एमआइ-१७ खोजीको लागि उडेको हो।

‘मुस्ताङको लेते भन्ने ठाउँमा दुर्घटना भएको भन्ने जानकारी आएको छ। त्यसको लागि हाम्रो टोली काठमाडौंबाट मुभ भइसकेको छ,’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने।

त्यस्तै, स्थल मार्गबाट पनि सेनाको टोली सूचना आएको ठाउँतर्फ गइसकेको छ।जहाज खोजीका लागि उडान गरेको फिस्टेल हेलिकोप्टर पुनः जोमसोम फर्किएको छ। 

पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका थिए।

विमान उडेको १५ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

सूचना लगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली जहाजको अवस्था खोजी गरिरहेको प्राधिकरणले जनाएको छ। विमानमा तीन भारतीय सहित ६ जना विदेशी रहेका छन्। १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रुदलका सदस्य रहेका छन्।

नाइन एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए। विमान घोडेपानी पुगेपछि सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell