ललितपुर : ‘दबिरहेका आवाजहरु अहिले बाहिर आइरहेको छ। धेरैले अझै बोल्न सकिरहेका छैनन्। म माथि पोखिने रातो रंग त्यही आवाजको प्रतिनिधि हो,’ शनिवार पाटनर दरबार क्षेत्रस्थित कृष्ण मन्दिरको प्राङ्गणमा एक युवती बोलिरहेकी थिइन्।
सेतो पहिरन लगाएकी विविका कोइराला आफूमाथि रातो रंग लगाउन त्यहाँ उपस्थित मानिसहरुलाई आह्वान गरिरहेकी थिइन्। ‘पेन्ट मि रेड’ अभियान अन्तर्गत उनी एक हप्ता अघि वसन्तपुरमा त्यसरी नै उभिएकी थिइन्। त्यहाँ पनि उनीमाथि रातो रंग लगाउने मानिस धेरै थिए।
पछिल्लो समय यौन दुर्व्यवहारमा परेकी महिलाहरु खुलेर बोलिरहेका छन्। उनीहरुको आवाजमा साथ दिन आफूले यो अभियान थालेको बताउँछिन् विविका।
आफूले पनि कुनै समय दुर्व्यवहार भोगेको भन्दै उनले रातो रंग महिलाहरुको आवाज भएको बताइन्। उनकै टीममा रहेकाहरुले कसैले यौन दुर्व्यवहार भोगेको भए विविकालाई रंग्याउन भनिन्। त्यसपछि दरबार क्षेत्रमा रहेका युवायुवतीहरुले पालैपालो उनलाई रातो रंग्याउन थाले।
विविकामाथि रंग लगाउँदै गर्दा केही युवतीहरु रुँदै थिए महिलाले भोग्नुपर्ने पीडा विविकासँग साट्दै उनीहरु त्यहाँ महिलाहरुले उठाइरहेको आवाजलाई समर्थन गर्दै थिए। उनीहरुले बलात्कार र यौन दुर्व्यवहारका घटनामा हदम्याद हटाउन हस्ताक्षर समेत संकलन गरेका थिए।
आउने दिनमा थप अन्य स्थानमा पनि यो अभियान संचालन गर्ने उनीहरुको योजना छ।