पोखरा : आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न पैदल यात्राबाट प्रहरी टोली खटिएको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले पैदलबाट खोजी कार्य सुरु गरेको हो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार अहिलेसम्म विमानबारे केही जानकारी प्राप्त भएको छैन। प्रहरीको टोली पैदल यात्रा गरेर विमानको खोजी कार्यमा लागेको उनले जानकारी दिए।
घासाको चेक पोष्टबाट प्रहरी सम्पर्कविहीन भएको स्थान लेते जाँदैछन्। त्यहाँ पुग्न प्रहरीलाई करिब चार घण्टा लाग्छ। विमानको खोजीकार्यका लागि नेपाली सेनाको पैदल टोली पनि मुस्ताङको घासाबाट परिचालित भएको छ। त्यस्तै, सेनाको हेलिकोप्टर पनि काठमाडौंबाट गएको छ।
पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका थिए।
विमान उडेको १५ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन्।
सूचना लगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली जहाजको अवस्था खोजी गरिरहेको प्राधिकरणले जनाएको छ। विमानमा तीन भारतीय सहित ६ जना विदेशी रहेका छन्। १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रुदलका सदस्य रहेका छन्।
नाइन एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए। विमान घोडेपानी पुगेपछि सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
यसअघि, खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको थियो। तर, हेलिकप्टर जान असहज भएपछि फर्किएको बताइएको छ।