काठमाडौँः नेपाल बार एशोसिएशन अब संघीय संरचनामा जाने भएको छ। बार केन्द्रीय कार्यसमिति बैठकले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको हो। निर्वाचनका दौरान उक्त एजेण्डा मातहतका बार इकाइहरुले उठाएका थिए।
बार उपाध्यक्ष सुधीर कर्णले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको बताए। हाललाई अस्थायी संरचनाका रुपमा प्रदेश बार इकाइ समन्वय समिति गठनको पनि निर्णय भएको छ। साथै, विधान संशोधनका लागि परामर्श अघि बढाउने पनि सहमति बैठकमा भएको छ।
सहमति अनुसार अब सात प्रदेशबाट निर्वाचित बारका उपाध्यक्ष प्रदेश इकाइको समन्वय समिति संयोजक हुनेछन्। समितिमा मातहतका बार इकाइका अध्यक्ष र प्रदेशबाटै निर्वाचित केन्द्रीय सदस्य रहनेछन्। सदस्य मध्येबाट एक जना सदस्य सचिव हुनेगरि सहमति भएको छ।