PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

राजस्थानलाई हराउँदै गुजरात बन्यो आईपीएलको च्याम्पियन



पहिलोपोस्ट

राजस्थानलाई हराउँदै गुजरात बन्यो आईपीएलको च्याम्पियन

इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि जितेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो। फितलो प्रदर्शन गरेको राजस्थानका लागि ओपनर जोस बटलरले सर्वाधिक ३९ रन बनाउँदा यशश्वी जसवालले २२ रन बनाए। त्यस्तै रियान परागले १५, कप्तान सञ्जु सामसनले १४ तथा सिमरोन हिटमायरले ११ रन बनाए।

बलिङतर्फ गुजरातका हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिँदा रविश्रीनिवासन साइ किसोरले २ तथा मोहम्मद शमी, यश डायल र राशिद खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। गुजरातका लागि शुभमन गिलले सर्वाधिक अविजित ४५ रन बनाउँदा हार्दिक पाण्ड्याले ३४ तथा डेभिड मिलरले अविजित ३२ रनको योगदान दिए।

बलिङतर्फ ट्रेन्ट बोल्ट, प्रसिद कृष्णा र युजवेन्द्र चहलले समान १ विकेट लिए पनि गुजरातलाई जितबाट रोक्न सकेनन्।

गुजरातले समूह चरणमा १४ खेलबाट १० जित र ४ हार ब्यहोर्दै २० अंक जोडेर शीर्षस्थानमा रहँदै क्वालिफायर्समा पुगेको थियो। क्वालिफायर्समा राजस्थानलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो। र, फाइनलमा पनि राजस्थानलाई नै हराएर च्याम्पियन बन्न पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell