PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लाइसेन्स फाराम आज साँझदेखि पुनः खुल्दै, राजस्व अनलाइन प्रणालीबाट, ट्रायलको दिन रोज्न पाइने



शुक्र गिरी

लाइसेन्स फाराम आज साँझदेखि पुनः खुल्दै, राजस्व अनलाइन प्रणालीबाट, ट्रायलको दिन रोज्न पाइने

काठमाडौं: सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम आज (सोमबार) साँझ बजेदेखि पुनः खुला हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार अनलाइन फारम प्रणाली अब सेवाग्राहीमैत्री अप्सनसहितको छ। 

अनलाइनबाट फाराम भर्नेले आवश्यक दस्तुर बुझाउन र सम्पर्क मिति लिन सक्नेछन्। धेरै चाप र सीमित सेवा दिने प्रणालीका कारण लाइसेन्सको व्यवस्थापनमा समस्या आएपछि विभागले अर्को सफ्टवेयर तयार पार्न काम गरिरहेको थियो। पहिलेको सफ्टवेयर भारतीय कम्पनीले बनाएको थियो, जसमा अप्सन र क्षमता थप्न मिलेको थिएन। नयाँ सफ्टवेयर नेपाली कम्पनीले तयार पारेको विभागले जनाएको छ।

यसमा विभागले आवश्यकताअनुसार सुविधा र क्षमता थपघट गराउन सक्नेछ। यसले देशैभरी रहेका विभागको २४ वटा कार्यालयबाट दैनिक १५ हजार जनालाई सेवा प्रदान गर्नेछ। यसका लागि विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा नयाँ सर्भर तयार गरिसकेको छ। अब राजस्व अनलाइनबाटै तिर्न मिल्ने सुविधा पनि समावेश गरिएको यातायात व्यवस्था विभागका उपमहानिर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए।

गत चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द छ। सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो। यसबीच विभागले नयाँ सर्भर तयार गरी परीक्षण गरिसकेको छ। उक्त परीक्षण सफल भएमा सोमबारदेखि सेवाग्राहीले अनलाइनबाट आवेदन दिन पाउनेछन्।

अब राजस्व बुझाउन बैंक जानु नपर्ने

विभागले लाइसेन्सका लागि नयाँ अनलाइन फारम खुलाउँदा राजस्व पनि अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। सुरुमा नयाँ सर्भरलाई राजस्व भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालयको सर्भरसँग जोड्नका लागि प्राविधिक समस्या थियो।

त्यो समस्या समाधन भएको र विभागको योजना अनुरुप हालका लागि राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्न सम्भव भएको छ। यसका लागि विभाग र महालेखा नियन्त्रक कार्यालयका आईटी इन्जिनियरहरुले मिलेर काम गरेका थिए।

लाइसेन्सको आवेदन दिनेले अनलाइनबाट राजस्व बुझाएर रसिद पनि प्राप्त गर्न सक्नेछन्। 

किन ढिला भयो नयाँ सफ्टवेयर 

विभागले जेठकै पहिलो साताबाट लाइसेन्सको अनलाइन आवेदन खुलाउने योजना बनाएको थियो। विगतमा विभागले भारतको मद्रास सेक्युरिटी प्रेसले तयार गरेको सर्भरबाट लाइसेन्सको आवेदन लिने गरेको थियो।

मद्रास सेक्युरिटीले तयार गरेको सर्भरबाट नेपाली कम्पनीले तयार गरेको सर्भरमा डाटा सार्न केही प्राविधिक समस्या आएको थियो।

पुरानोबाट नयाँ सर्भरमा वर्ग थपका लागि आवश्यक डाटा सार्न कठिनाइ हुँदा विभागको योजना अनुसार जेठको पहिलो साताबाट लाइसेन्सको अनलाइन फारम खुलाउन नसकिएको विभागका उपमहानिर्देशक पनेरु बताउँछन्।

अब आफैंले रोजेको दिनमा परीक्षा दिन पाइने

यसअघि कार्यालयले जुन दिन भन्यो त्यही दिन जानुपर्ने भए पनि अब दुई साताभित्र कुन दिन जाने भनी सेवाग्राही आफैंले खाली भएमा छानेर जान सक्ने प्रवक्ता पनेरुले बताएका छन्। उनका अनुसार बस वा हवाईजहाजमा अनलाइन टिकट लिन जसरी नै कति सिट छ हेरेर खालीमा जान सकिन्छ त्यसैगरी आफ्नो परीक्षाको दिन बुकिङ गर्न पाइनेछ।

सेवाग्राहीले एउटा कोडिङ नम्बर पाउने र त्यसका आधारमा कार्यालयले बोलाउने उनले बताए। 'फारम अनलाइनबाट भरे पनि सबै कुरा अनलाइनबाट नहुने हुँदा सेवाग्राही मेडिकल जाँच, नागरिकता पुष्टि गर्न कार्यालय जानुपर्छ,' उनले भने, 'यी सबै गरेर उपयुक्त दिनमा परीक्षा दिन जान सक्छन्।'

अनलाइन फारम भरेकाबाट परीक्षा १५ दिनभित्र क-कसको लिइने भनी सूचना प्रकाशित गरिने विभागका उपमहानिर्देशक पनेरुले बताए। त्यो चरणमा पालो आएका सेवाग्राहीले कुन कार्यालयबाट र कुन दिन परीक्षा दिने भनी छान्न पाउने उनले जानकारी दिए।

नयाँ प्रणालीमा पहिले अनलाइन राजस्व बुझाएपछि मात्रै फारम भर्ने व्यवस्था मिलाइएको छ। विगतमा फारम भरेर पास भएपछि मात्रै राजस्व तिर्ने व्यवस्था थियो। पहिले पैसा पर्दैन भनेर पनि धेरै सेवाग्राहीले भर्ने तर परीक्षामा सहभागी नभएको पाइएको छ। त्यसको नियन्त्रणका लागि पनि सुरुमा राजस्व तिर्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell