
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतको निर्णयविपरित् निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो।
समितिकी सभापति पवित्रा निरौला (खरेल)ले समितिको तर्फबाट नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्र सुदृढ तुल्याउने उद्देश्यले लामो समयको अध्ययन तथा लगानीका साथ अघि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने निर्णय कुनैपनि दृष्टिबाट उचित नभएको बताइन्। वाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठीन अवस्थामा रहेको नेपालको अर्थतन्त्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि भइरहेको अर्बौँ रुपैयाँलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्ने उनले बताइन्।
सभापति निरौलाले भनिन्, ‘अन्तर्राष्ट्रिय हित, सुरक्षा र आर्थिक हिसाबका दृष्टिबाट अत्यन्त अत्यावश्यक निर्माणधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु।’
समितिले पोखराबाट जोमसोमतर्फ चालकदलका सदस्यसहित कुल २२ जना यात्रु बोकेर उडेको तारा एयर प्रालिको ट्विनअटर नाइनएन एइटी विमान दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ। -न्युज एजेन्सी नेपाल