
काठमाडौं : स्थानीय तह निर्वाचनको समीक्षाका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पाएको मत परिणामका बारेमा समीक्षा भइरहेको छ।
गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरमा भागबन्डा गरेको थियो। अरु स्थानीय तहमा पनि चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि अधिकांश पालिकाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा सत्ता गठबन्धन दल उत्रिएका थिए।
स्थानीय तहको नतिजालाई लिएर नेकपा माओवादी केन्द्र सन्तुष्ट देखिएको भए पनि नेकपा एकीकृत समाजावादी केन्द्र असन्तुष्ट बनेको छ। नेपाली कांग्रेसले भने सबैभन्दा धेरै ठाउँमा जितेर पहिलो दल बनेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाललेलाई सत्ता गठबन्धनले अधिकांश पालिकाहरुमा हराएको थियो।