
काठमाडौं : काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा आज ६ वटा एजेन्डामा छलफल भएका छन्। प्रमुखमा वालेन्द्र साहसहित जनप्रतिनिधिहरुले शपथ लिएपछि बसेको पहिलो बैठक अहिले बसिरहेको छ।
आजको बैठकमा ६ वटा एजेन्डामाथि छलफल भएका छन्। बैठकको सुरुवातमा नै नवनिर्वाचित जनप्रतिनिधहरुले परिचय दिएका छन्। यस्तै, दोस्रो एजेन्डाका रुपमा काठमाडौं महानगरवासीलाई धन्यवाद ज्ञापन गरिएको थियो।
मेयर वालेन्द्रले तेस्रो एजेन्डाका रुपमा फोहोर व्यवस्थापनलाई राखेका थिए। उनले काठमाडौं महानगरपालिकाको फोहोर सिसडोल बन्चरेडाँडामा फ्याँक्ने गरिएको भन्दै त्यसबाट हुने हानी न्यूनिकरण गर्न पहल गर्न आह्वान गरेका थिए।
सिसडोलवासीले अहिले धेरै पीडा सहिरहेको भन्दै उनले अहिले उत्सव मनाउने बेला नभएको बताए। सिसडोलमा फोहोरका कारण मानिसहरुको मृत्यु भइरहेको भन्दै उनले शोकको अवस्था रहेको बताएका हुन्।
‘फोहोर व्यवस्थापन नभएर कसैको ज्यान गइरहेको छ। सुरुमा त्यसको व्यवस्थापन गर्नुपर्छ। हामी मानव भएर त्यसको व्यवस्था गर्नुपर्छ,’ उनले भने।
वालेन्द्रले फोहोर व्यवस्थापनमा आधुनिक तरिका अपनाउन पर्नेमा जोड दिए। उनले फोहोरको पुन:प्रयोग गर्न सकिने भन्दै त्यसबारेमा छलफल हुन सक्ने बताए।
‘७५ प्रतिशत भन्दा अर्गेनिक भएकाले मलमा कन्भर्ट गर्न सकिन्छ। त्यसका लागि महानगरमा केही प्रपोजल पनि होला। सिसडोल पनि बस्न योग्य बनाउनु पर्यो। वडा अध्यक्षको पनि टिम बनाएर जानुपर्यो,’ उनले भने।
चौथो एजेन्डाका रुपमा वालेन्द्रले काठमाडौं महानगरमा रहेका रेष्टुराँहरुमा रहेको शौचालय प्रयोग गर्नबारे प्रस्ताव पेश गरेका थिए। वालेन्द्रले ती शौचालय व्यवस्थापन बारे सरोकारवालसँग छलफल भइरहेको भन्दै वडाहरुको पनि साथ चाहिने बताए।
यस्तै, पाँचौ एजेन्डाका रुपमा उनले महानगरको गुनासो लिनलाई कल सेन्टर स्थापना गर्ने बताए।
‘यो प्रमुख उपप्रमुखको लागि मात्रै नभएर वडा अध्यहरुका लागि पनि हो। त्यहाँ आएका गुनासो वडा अध्यक्षहरुले पनि हेर्न सक्नुहुन्छ। महानगरले डाइरेक्ट ३२ वडाकै हेर्छ,’ उनले भने।
वालेन्द्र शाहले इन्फास्ट्रक्चर एम्बुलेन्सको अवधारणा अघि सारेका छन्।
‘खाल्डो परेको ठाउँमा तुरुन्तै बनाउने। पानी पर्यो डुबानमा पर्यो। यसमा इन्जिनियर बस्नुहुन्छ,’ वालेन्द्रले भने।
वालेन्द्रले सुरुमा दुईवटा एम्बुलेन्सको व्यवस्था गर्ने र कलसेन्टरबाट आएको गुनासोलाई तत्काल सम्बोधन एम्बुलेन्सबाटै गर्ने योजना बनाइरहेको समेत बताए।