PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सशस्त्रका पूर्व डीआइजी रञ्जन कोइराला कारागार चलान, यस पटक भने केन्द्रीय कारागार सुन्धारा पठाइयो



पहिलोपोस्ट

सशस्त्रका पूर्व डीआइजी रञ्जन कोइराला कारागार चलान, यस पटक भने केन्द्रीय कारागार सुन्धारा पठाइयो

काठमाडौं : सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।

श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बदर गरेको थियो। त्यसपछि फरार रहेका रञ्जनलाई शुक्रवार पक्राउ गरेको थियो।

महानगरीय प्रहरी वृत दरवारमार्गमा तीन दिनसम्म राखिएका कोइरालालाई आज अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारा पठाइएको हो। प्रहरीले पक्राउ गरेपछि कोइरालाले आफूलाई ३५ दिने भाका नदिएको भन्दै गुनासो व्यक्त गरेका थिए।

काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्चले नै कैद सजाय घटाएपछि कोइराला २०७७ साउन ८ गते बिहीवार छुटेका थिए। सर्वोच्चका तत्कालिन प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो। सो फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता भएको थियो।

कोइरालालाई श्रीमती गीता ढकाल (कोइराला)लाई हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिरबाट काठमाडौंतर्फ बा ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ बैशाख ७ गते कोइरालालाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी फेरि उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगेका थिए। २०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सही भएको भन्दै सदर गरेको थियो।

त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले कोइरालाको साढे ११ वर्ष कैद मिनहा गरिएको थियो। त्यतिखेर उनी डिल्लीबजार सदरखोरमा बसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell