
हेटौँडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम लागू हुन गाह्रो हुने बताएकी छिन्।
उनले आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै प्रदेश सरकारको आयु सकिने समयमा नीति तथा कार्यक्रम पेश हुँदा लागू हुन नसक्ने बताइन्।
‘निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको कात्तिक २७ र मंसिर १३ गते भनेर मिति तोकिसक्यो। तर, यो नीति तथा कार्यक्रम पेश भएको देख्दा पाँचै वर्ष सरकार नभएपनि लागू गर्नेजस्तो गरी ल्याएको छ। त्यसैले पनि यो नीति तथा कार्यक्रम लागू हुन सक्दैन’, उनले भनिन्, ‘नीति तथा कार्यक्रम बनाउँदै गर्दा प्रतिपक्षीसँग पनि छलफल गर्नुपर्थ्यो तर उहाँहरुले त्यस्तो गर्नुभएन। हामी हाम्रो पार्टीको तर्फबाट धारणा राख्छौँ।’
उनले आयु नै छोटो भइसकेको सरकारले नीति तथा कार्यक्रममा ल्याउँदा अप्ठ्यारो अवस्था आएको बताइन्।